काठमाडौँ, १८ चैतः राजावादीले शुक्रबार गरेको प्रदर्शनमा तुरुन्तातुरुन्तै आगो लगाउने कार्य नियोजित थियो कि आकस्मिक ? लुटपाट र तोडफोड योजनाबद्ध थियो कि कसैको उक्साहटमा भएको अराजक काम ? जसलाई भेट्यो उसैलाई पिट्नेहरू को थिए ? कहाँबाट आएका थिए ? र, ती अहिले कहाँ छन् ?
राष्ट्रिय मानवअधिकार आयोगमा आइतबार यसबारे छलफल भयो, जहाँ राजावादी र समाजवादी मोर्चा दुवै प्रदर्शनको अनुगमन गरेका चार टोलीका डेढ दर्जन सदस्यले आफूले देखेको विवरण विश्लेषणका साथ प्रस्तुत गरे । कतिपयले अनुगमनका क्रममा प्रदर्शनकारीबाट आफूहरू पिटिएको र ज्यान जोगाएर घटनास्थलबाट फुत्किएको पनि उनीहरूले सुनाए । ‘अवस्थाको आकलन सुरक्षा निकायले गरेभन्दा भिन्न थियो,’ अनुगमनमा एउटा टोलीको नेतृत्व गरेर शुक्रबार तीनकुने पुगेकी आयुक्त लिली थापाले भनिन्, ‘मानवअधिकार आयोग के हो र मानवअधिकारवादी को हुन् भन्नेसमेत पनि थाहा नभएको एउटा अराजक समूह प्रदर्शनमा थियो, उनीहरू जसलाई जहाँ भेटे पनि पिट्न उद्यत थिए ।’
प्रदर्शनकारीले थापा र उनले नेतृत्व गरेको टोलीमाथि पनि आक्रमण गरेका थिए । त्यस क्रममा मानवअधिकार अधिकृत खिमानन्द बस्यालको टाउको फुटेको थियो । यस्तो समूह स्वस्फूर्त आएको थियो कि कसैको नेतृत्वमा लामो तयारी गरेको थियो भन्नेबारे सत्यतथ्य बुझ्न राज्यले छानबिन समिति बनाउनुपर्ने निष्कर्ष अनुगमनकर्ताहरूको छ । ‘आयोग पनि यसबारे छानबिन र अनुसन्धानमा लागेको छ, हामी छिट्टै प्रतिवेदन तयार पारेर सरकारलाई चुस्त छानबिन समिति बनाउन सिफारिस गर्ने निष्कर्षमा पुगेका छौं,’ आयुक्त थापाले भनिन्, ‘त्यसो नगरी यस तहको वितण्डा कहाँबाट र कसरी भयो भन्ने जान्न सकिँदैन ।’
जवाफदेही निगरानी समूहका संयोजक अधिवक्ता राजु चापागाईंले आपराधिक घटनामा प्रत्यक्ष संलग्नलाई कारबाही गरेर मात्र नपुग्ने बताए । ‘ठूलो संख्यामा अराजक मानिसले सडकमा उत्रिएर नागरिकको सम्पत्तिमा आगजनी र लुटपाट गरे, दुई जनाको ज्यानै गयो, धेरै नै घाइते छन्, यसको बृहत् रूपमा छानबिन अपरिहार्य छ ।’
घटनामा प्रहरीको कमजोरी भएकाले पनि यो तहको क्षति भएको भन्ने प्रारम्भिक विश्लेषणका आधारमा पनि न्यायिक आयोग जरुरी भएको चापागार्इंले बताए । ‘प्रहरीले मात्रै नियमित प्रक्रियाद्वारा अनुसन्धान गरी अभियोजन गर्दा उसैको कमजोरी केलाइँदैन,’ उनले भने, ‘त्यसमाथि यो आन्दोलन ज्ञानेन्द शाहले उक्साएर भएको हो भनिँदै छ, हो कि होइन बुझ्न निष्पक्ष रूपमा न्यायिक समिति गठन हुनैपर्छ ।’
प्रहरीको कमजोर कार्यसम्पादनले पनि जनधनको क्षति भएको सुरक्षाविद्ले औंल्याएका छन् । ‘प्रहरीले घटनाको सही आकलन गर्न सकेको जस्तै देखिँदैन, त्यसैले ठूलो मात्रामा जनधनको क्षति भयो,’ पूर्वरथी बालानन्द शर्मा भन्छन्, ‘प्रदर्शनमा नेतृत्व कसले लिने भन्ने पनि कसैलाई थाहा थिएन, फ्रस्टेड भएका मानिसमा राजाबारे आआफ्नो जे बुझाइ थियो, त्यही लिएर आए अनि प्रहरीलाई हेरेको हेर्यै पारेर तोडफोड र आगजनीका घटना मच्चाए ।’
मानवअधिकार आयोगले काठमाडौं र ललितपुरका सबै सुरक्षा प्रमुख, प्रहरी प्रमुख तथा मानवअधिकार सेललाई आन्दोलनको अघिल्लो दिन बिहीबार नै प्रदर्शनको सुरक्षा योजनाबारे सोधेको थियो । त्यसै दिन नेपालस्थित कूटनीतिक नियोगका मानिसले प्रदर्शन हिंसात्मक हुन सक्ने विश्लेषण गरी आफ्ना नागरिकलाई काठमाडौं बाहिर ननिक्लन लिखित रूपमै सचेत गराएका थिए ।
‘एकै दिन दुई विपरीत आस्था भएका समूहले गरेको प्रदर्शनमा हिंसात्मक गतिविधि हुने आकलन विदेशी नागरिकले गरिसक्दा पनि प्रहरीले यसलाई सामान्य रूपमै लिनु भूल थियो,’ पूर्वरथी शर्मा भन्छन्, ‘त्यसमाथि दिनभरि ठूलो संख्याका प्रदर्शनकारीलाई निगरानीमा राखीबस्दा प्रहरीमा थकान बढ्छ र काम गर्न गाह्रो पर्छ । त्यसैले हुन सक्छ, जडीबुटीमा आगो लाग्दा र भाटभटेनीमा लुटपाट हुँदा प्रहरी नियन्त्रणका लागि पुग्न सकेन ।’