काठमाडौँ, १५ चैतः राजावादी आन्दोलनकारीले तीनकुनेस्थित अन्नपूर्ण मिडिया नेटवर्कको कार्यालयमा तोडफोड र आगजनी प्रयास गरेका छन् ।
भवनका सिसाहरू फुटाउँदै आगो झोस्ने प्रयास भएको अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले बताए । शुक्रबार तीनकुने केन्द्रित आन्दोलनमा जम्मा भएका राजावादीबाट सञ्चार गृह, व्यक्तिगत घरदेखि अफिससम्म आक्रमण र तोडफोड भएको थियो । महाप्रबन्धक बस्नेतले आतंक मच्चाउँदै आक्रमण र आगजनी भएको बताए ।
व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कर्फ्यु लगाएको छ । तीनकुने क्षेत्रमा अराजकता बढ्दै गएको, सुरक्षाकर्मी र दमकलमाथि नै आक्रमण गर्ने क्रम बढेपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु लगाउने निर्णय गरिएको हो । कर्फ्युपछि पनि तीनकुनेमा राजावादीले नाराबाजी जारी राखेका छन् ।
राजावादी समूहले कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड गरेको छ । तीनकुने सभास्थलबाट तितरबितर भएका राजावादी प्रदर्शनकारीले भाटभटेनीमा ढुंगा प्रहार गरेर सिसालगायतका भौतिक संरचनामा क्षति पुर्याएका छन् ।
राजावादीकै समूहले आलोकनगरस्थित नेकपा एसको कार्यालयमा आगजनी गरेको थियो । तीनकुनेका विभिन्न घरभवनमा पनि तोडफोड र आगजनी गरिएको छ ।