दाङ, १० चैतः युवा ब्याटर किरण ठगुन्नाको शतकको मद्दतमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ३१ रनले पराजित गरेको छ । लमहीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ मा आइतबार २४३ रनको विजयी लक्ष्य पछ्याएको कोशी प्रदेश ४५ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २११ रनमा समेटिएपछि सुदूरपश्चिमले ३१ रनको जित हासिल गरेको हो।
सुदूरपश्चिमलाई जित दिलाउन किरण ठगुन्नाले ११५ रन बनाएपछि कोशीले जितका लागि संघर्ष गर्यो । २४३ रनको विजयी लक्ष्य पछ्याएको कोशी प्रदेशका लागि शकिब हकले सर्वाधिक ६२ रन जोडे । उनले ६६ बलमा ११ चौकासहित ६६ रन बनाएर सौर्य श्रेष्ठको बलमा आउट भए । कप्तान अंकित सुवेदी २६ बलमा ६ चौकासहित ३८ रन जोडेर रनआउट भए । समीर कार्कीले ३७ बलमा ३ छक्काको मद्दतमा ३८ रन जोडे । आशिष भट्टराईले ९० बल सामना गर्दै ४ चौकासहित ३६ रन बनाए । दिपेश कँडेलले १४ रन जोडे । कोशीलाई हराउन सुदूरपश्चिमका सौर्य श्रेष्ठले ९ ओभरमा १ मेडनसहित ४५ रन खर्चेर ३ विकेट लिए । भोजराज भट्टले ४ दशमलब १ ओभरमा २८ रन खर्चेर २ विकेट लिँदा शेर मल्ल, कप्तान नारायण जोशी र राहुल भण्डारीले १-१ विकेट लिए ।
लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका किरण ठगुन्नाको शतकीय पारीमा २४२ रन बनाएको थियो । सुदूरपश्चिमका लागि छैठौं नम्बरमा ब्याटिङ गर्न आएका किरणले ९१ बलमा ४ छक्का र १२ चौकाको मद्दतमा ११५ रन बनाए । उनले शतकपछि ठूला शट प्रहार गर्ने क्रममा फिर्दोश अन्सारीको बलमा लङअफमा प्रकाश कार्कीको हातबाट क्याच आउट हुन पुगे ।
फागुन २५ गतेबाट जारी प्रतियोगितामा किरणले यसअघि पनि देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गण्डकी प्रदेश विरुद्ध अविजित १२१ बनाउँदै पहिले शतक बनाउने खेलाडी बनेका थिए । प्रतियोगितामा सुदूरपश्चिमले ४३ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै २४२ रन जोड्यो । सुदूरपश्चिमको पारी उकास्न किरणबाहेक अरु खेलाडीले ब्याटबाट प्रभाव छाड्न सकेनन् ।टेक बोहरा १६ रन, अर्जुन बिक १५ रन, शेर मल्ल र कप्तान नारायण जोशी समान १४-१४ रन बनाएर आउट भए । सौर्य श्रेष्ठ र निश्चल क्षेत्री १०-१० रन बनाएर आउट भए । कोशी प्रदेशका लागि ज्ञानेन्द्र श्रेष्ठले ९ दशमलव ४ ओभरमा १ मेडनसहित ४८ रन दिएर ४ विकेट लिए । फिर्दोश अन्सारीले ८ ओभरमा १ मेडनसहित ३३ रन दिएर २ विकेट लिँदा कप्तान अंकित सुवेदीले पनि ५ ओभरमा ३० रन दिएर २ विकेट हात पारे । दिपेश कँडेल, प्रकाश कार्कीले १-१ विकेट लिए । कोशीविरुद्धको जितमा शतक प्रहार गरेका सुदूरपश्चिम प्रदेशका किरण ठगुन्ना प्लेयर अफ द म्याच भए ।
दाङमा पहिलो पटक आयोजना गरिएको पीएम पुरुष क्रिकेट प्रतियोगितामा अंक तालिकाको सातौं स्थानमा रहेको सुदूरपश्चिम प्रदेश र पुछारमा रहेको कोशी प्रदेश टिमबीच खेल जारी छ। अहिलेसम्म ८ खेल खेलिसकेको सुदूरपश्चिम ३ मा जित र ५ मा हार व्यहोर्दै ६ अंकका साथ सातौं स्थानमा यथावत छ भने समान ८ खेल खेलिसकेको कोशी प्रदेश १ खेलमा जित र ७ खेलमा लगातार हार व्यहोर्दै २ अंकका साथ अंक तालिकाको नवौं स्थानमा छ ।
नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टिम आर्मी क्लब, एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टिमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलिरहेका छन् । राउन्ड रोबिनका आधारमा भइरहेको प्रतियोगिता चैत १६ गतेसम्म चल्नेछ ।
तीन खेल मैदानमा भइरहेको प्रतियोगिताअन्तर्गत रुपन्देहीको सिद्धार्थ रंगशालामा १७ वटा, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा १५ वटा, दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १४ वटा गरी ४६ वटा खेल हुनेछ जसमध्ये शनिबारसम्म ३४ वटा खेल भइसकेका छन् । सोमबार बागमती र कर्णाली प्रदेश तथा मंगलबार नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीच खेल हुँदैछ ।