तिलोत्तमा, १० चैतः आशिफ शेखको अर्धशतक मद्दतमा विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार गण्डकी प्रदेशलाई पराजित गरेको छ । तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा उपाधि दाबेदार एपीएफले गण्डकीलाई ३१ रनले हराएको हो । एपीएफ क्लबको यो पाँचौं जित हो ।
एपीएफले लिएको २५९ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा २२७ रन मात्र बनाउन सक्यो । गण्डकीका अर्जुन कुमालले ८२ बलमा ३ चौकाको सहयोगमा सर्वाधिक ३९ रन बनाए । दिनेश बुढामगर ३४, मुस्कान थापा र अमृत गुरुङ समान २३/२३ रनमा आउट भए । समीर कँडेल र कमल परियालले समान १३/१३, कप्तान विपिन खत्रीले १४ रन बनाउँदा सुदीप अर्याल २५ रनमा अविजित रहे ।
बलिङमा एपीएफका लागि अभिषेश गौतमले ३ विकेट लिए । यस्तै, अमर राउटेलाले २ विकेट हात पार्दा किशोर महतो, कप्तान रोहित पौडेल र भुवन कार्कीको नाममा समान एक–एक विकेट रहृयो । त्यसअघि पहिला ब्याटिङ गरेको एपीएफले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २५८ रन बनाएको थियो । एपीएफको जितमा ओपनर लोकेश बमले ५५ बलमा ६ चौकाको सहयोगमा ४६ रन बनाए । आशिफ शेखले सर्वाधिक ८० रनको योगदान गरे । उनले ७४ बलमा १० चौका र एक छक्का प्रहार गरे । उनी प्लेयर अफ दी म्याच घोषित भए ।
यस्तै, सुमित महर्जनले ३१, कमल ऐरीले २५, अमर राउटेलाले २४ रनको योगदान गरे । दीपक बोहराले ११ रन बनाउँदा कप्तान रोहित पौडेल ७ रनमा पभेलियन फर्किए । बलिङमा गण्डकीका लागि सन्दीप पराजुली र सुदिप अर्यालले समान ३/३ विकेट लिए । यस्तै, कमल परियालले २ तथा चन्द्र पौडेलले एक विकेट हात पारे । विपिन खत्री भने महँगो साबित भए । १० ओभल बलिङ गरेका खत्रीले बिनाविकेट ६४ रन खर्चिए ।
यो जितसँगै एपीएफ १० अंकका साथ तालिकाको तेस्रो स्थानमा यथावत् रहेको छ । गण्डकीले भने लगातारको हारको यात्रामा निरन्तरता दिएको छ । गण्डकीले खेलेका ८ खेलमध्ये एउटामा मात्र विजयी भएको छ । लगातार ७ खेलमा पराजित गण्डकी मात्र २ अंक जोडेर तालिकाको पुछारमा छ । लगातारको पराजयसँगै गण्डकीको उपाधि यात्रा समाप्त भइसकेको छ ।
सोमबार सिद्धार्थ रंगशालामा गण्डकी र मधेश प्रदेशबीच खेल हुनेछ । एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा हुने अर्को खेलमा लुम्बिनी प्रदेशले एपीएफ क्लबको सामना गर्नेछ ।