काठमाडौँ, ७ चैतः सांसद रामहरि खतिवडाले संविधान विपरीत गरिएका घटनामा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा उहाँले गत फागुन ६ गते पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गरेको वक्तव्यमा शाही निशाना प्रयोग गरी श्री ५ महाराजाधिराज भनी उल्लेख गरिएकामा उहाँले आपत्ति जनाउँदै कारबाहीको माग गर्नुभयो ।
सांसद गोकुलप्रसाद बास्कोटाले काभे्रको बेथानचोक गाउँपालिका–३ र ५ स्थित महाभारत क्षेत्रमा तीन दिनदेखि आगलागी भइरहेकामा नियन्त्रणको माग गर्नुभयो । माध्यमिक शिक्षा परीक्षा (एसइई) चलिरहेका बेला बिहान कोरीबाटी गरेर हिँडेका विद्यार्थी धुलाम्ये हुने र गाडी लड्ने समस्या भएकाले पानी हालेर समस्या समाधान गर्न माग उहाँले गर्नुभयो ।
सांसद रमा कोइराला पौडेलले यस वर्षको एसइई आजदेखि सुरु भई पाँच लाख १४ हजार विद्यार्थी सहभागी भएको उल्लेख गर्दै शिक्षक महासङ्घका माग पूरा गर्न माग गर्नुभयो । नयाँ शिक्षा विधेयक छिटो ल्याउन पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । शिक्षकलाई आन्दोलनमा नभई कक्षामा पठाउनुपर्ने सांसद पौडेलको भनाइ थियो ।
सांसद प्रभु साहले गौर हत्याकाण्डका दोषीमाथि कारबाही गर्न माग गर्दै प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम औचित्यपूर्ण बनाउनुपर्नेमा जोड दिनुभयो । अन्यथा कार्यसूचीबाट प्रश्नोत्तर कार्यक्रम हटाइनुपर्ने र नहटाए आफूले संसद् बैठक बहिष्कार गर्ने चेतावनी दिनुभयो । यसअघि प्रधानमन्त्रीले आफूले सोधेको प्रश्नको जवाफ नदिएको सांसद साहको आरोप थियो ।
सांसद ठाकुर गैह्रेले विद्युत् आपूर्तिका विषयमा ऊर्जामन्त्रीले भ्रमयुक्त विषय बोलिरहेको भन्दै त्यस्तो नगर्न आग्रह गर्नुुभयो ।