जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते
धवलागिरि (म्याग्दी) ६, चैत : पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
सुङ्ग्रेपानीबाट मालिका–४, चिउरीबोटतर्फ जाँदै गरेको ग१ज ५६१२ नम्बरको जीप सडकबाट ५० मिटर तल खस्दा चिउरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिनुभयो ।
जीपमा चालकसहित ५ जना सवार रहेका थिए । घाइते भएका ओखरबोटका ३३ वर्षीय शेरबहादुर विक, चिउरीबोटका ३१ वर्षीय नगेन्द्र गोतामे र २२ वर्षीय भीमप्रसाद गोतामेको दरबाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चालकको लापरवाहीका कारण दुर्घटना भएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय दरबाङको टोली पुगेको छ ।
बाख्रा चराउँदै गर्दा लडेर मृत्यु
काँक्रेविहार (सुर्खेत), ६ चैत : जाजरकोटको बारेकोट गाउँपालिका–३ पछ्याउरीका ५९ वर्षीय खडक डाँगीको बाख्रा चराउने क्रममा लडेर मृत्यु भएको छ । घर नजिकैको जङ्गलमा बाख्रा चराउने क्रममा मङ्गलबार उनी लडेर घाइते भएका थिए ।
घाइते डाँगीलाई उपचारका लागि आधारभूत अस्पताल लिम्सा ल्याउँदै गर्दा आज बिहान बाटोमै मृत्यु भएको बारेकोट गाउँपालिका–३ का वडाध्यक्ष रामबहादुर सिंहले जानकारी दिनुभयो ।