२० फागनु, काठमाडौं : अस्ट्रेलियाको क्यानबेरा सहरबाट सांगीतिक ब्यान्ड नेपथ्यको कन्सर्ट सुरु भएको छ । कन्सर्टमा नेपाली मात्र नभई अस्ट्रेलियन दर्शक पनि सहभागी थिए । नेपालमा कूटनीतिज्ञका रूपमा लामो समयसम्म काम गरेकी लिन्डा ट्रिग पनि कन्सर्टमा सहभागी थिइन् ।
उनले भनिन्, ‘१७ वर्षअघि पहिलोपटक सिड्नीमा मैले नेपथ्यको कन्सर्ट हेरेकी थिएँ, त्यसयता अस्ट्रेलियामा आयोजित नेपथ्यका पाँचवटा कन्सर्ट हेरिसकेकी छु र यो छैटौं हो ।’
ब्यान्डको यो सातौँ अस्ट्रेलिया यात्रा हो । कन्सर्टको सुरुवात ‘कोशीको पानी’ बाट गरिएको थियो । त्यसपछि क्रमशः ‘भेडाको ऊन’ र ‘छेक्यो छेक्यो’ प्रस्तुत भए । ‘आँगनैभरि’ गाउने बेला गायक अमृत गुरुङले ३५ वर्षअगाडि आफूले तयार पारेको यो गीत अहिले सुनाउन पाउँदा बेग्लै आनन्द मिल्ने गरेको उल्लेख गरे । त्यसपछि नेपथ्यका सर्वकालिक हिट गीत ‘लामपाते सुरती’, ‘चरी मर्यो’ र ‘जोमसोमै बजारमा’ ले निरन्तरता पाए ।

गायक अमृतले गीतसँगै नेपाली भाषालाई भावी पुस्तासम्म विस्तार गर्न र नेपालमा रहेका आफन्तसँग बारम्बार भेट्न गई उताको सम्पर्कलाई पनि जीवित राख्न अनुरोध गरे । उनले नेपथ्यको पछिल्लो सिर्जना पनि पस्किए–
‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि...’
‘यो जिन्दगानी’ सुनाएपछि ‘गाउँ–गाउँबाट उठ’ सँगै कन्सर्टको माहोल अझ तातियो ।
मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए । कलाकारको यो टिमबाहेक व्यवस्थापक र प्राविधिकको १४ सदस्यीय टोली यात्रामा सरिक छ ।
यसपटकको शृंखलाबद्ध यात्राका क्रममा क्यानबेरामा पहिलो प्रस्तुति सम्पन्न भएपछि ब्यान्ड अब ‘वेस्टर्न अस्ट्रेलिया’ राज्यको राजधानी पर्थ सहर पुग्नेछ । मार्च ९ मा त्यहाँस्थित ‘मेट्रो सिटी हल’ मा अबको प्रस्तुति रहनेछ । ब्यान्ड यसअघि पनि त्यस हलमा उपस्थित भइसकेको छ ।

त्यसपछि मार्च १४ मा ब्रिसबेनको ‘द टिभोली’, मार्च १८ मा अस्ट्रेलियाकै पुछारमा रहेको टापु तास्मानियाको राजधानी होबार्टस्थित ‘ओडियन थिएटर’, मार्च २१ मा एडिलेड सहरको ‘हिन्डले स्ट्रिट म्युजिक हल’, मार्च २४ मा मेलबर्नको ‘फेस्टिभल हल’ मा प्रस्तुत भएपछि अन्तिम शो आयोजना गर्न सिड्नीतर्फ लाग्नेछ ।
पृथ्वीको दक्षिणी गोलार्द्धमा रहेको यस सहरमा मार्च २९ को साँझ ‘होर्डन पभिलियन’ मा आफूलाई प्रस्तुत गरेपछि ब्यान्ड स्वदेश फिर्नेछ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












