शनिबार, फागुन १७, २०८१

युवापुस्ताको मनोविज्ञान बुझेर विकास गर्नुपर्छ : कर्णाली प्रदेश मुख्यमन्त्री कँडेल


काँक्रेविहार (सुर्खेत), १७ फागुन : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आगामी दिनमा गरिने विकास निर्माणका कार्य युवापुस्ताको मनोविज्ञानमा आधारित हुनुपर्ने बताउनुभएको छ । वीरेन्द्रनगर नगरपालिकाले आज आयोजना गरेको ग्रेटर घण्टाघर निर्माणसम्बन्धी छलफलमा उहाँले विकासमा युवापुस्ताको सहभागितासँगै उनीहरूको चाहनाअनुसार विकासमा ध्यान दिनुपर्ने बताउनुभयो ।

वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशकै केन्द्र भएकाले यहाँ हुने विकास निर्माणको सिको अन्य पालिकाले गर्ने हुँदा यहाँ हुने विकास जनभावनाअनुसार दिगो र वातावरणमैत्री हुनुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड थियो ।

सार्वजनिक जमिन आउने पुस्ताका लागि भएकाले यहाँ गरिने निर्माणका कार्य सोच विचार गरेर मात्र अगाडि बढाउनुपर्ने बताउँदै मुख्यमन्त्री कँडेलले कम लागतमा राम्रो गुणस्तरसहितको संरचना बनाउनेतिर स्थानीयतहले ध्यान दिनुपर्ने बताउनुभयो ।

छलफल वीरेन्द्रनगर प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा र प्रदेशसभा सदस्य जानकी सिंह, निर्वाचित जनप्रतिनिधि, राजनीतिका दलका प्रतिनिधि र उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरूको सहभागिता थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ