काठमाडाैँ, १५ फागुनः एक सातायता नियमित उडानमा गडबडी भएका कारण सयौं यात्रु अलपत्र परेको घटनामा नेपाल वायुसेवा निगमले क्षमा याचना गरेको छ । निगमका तीनवटा जहाज ‘ग्राउन्डेड‘ भई सयौं यात्रु अलपत्र परेको घटनामा छानबिन गर्न समिति बनाइएको निगमले विज्ञप्ति मार्फत जनाएको छ ।
‘प्राविधिक समस्याका कारण सिर्जना भएको यस कठिन परिस्थितिमा यात्रुहरुमा पर्न गएको असुविधाप्रति निगम क्षमायाचना गर्दछ,’ निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यात्रुहरुको सुविधालाई ध्यानमा राखेर आफ्नै उडान वा उपलब्ध भएसम्म अन्य वायुसेवामार्फत गन्तव्यमा पुर्याइदिने कार्य भइरहेको छ ।’
निगमले रोकिएका यात्रुलाई अर्को टिकटको व्यवस्था नभएसम्म निगमकै खर्चमा होटलबास सुविधा दिने जनाएको छ । विमानहरु एकपछि अर्को ‘ग्राउन्डेड’ भएको विषयमा अध्ययन गरी कारबाही सिफारिस गर्न तीन सदस्यीय छानबिन समिति बनाइएको पनि निगमले उल्लेख गरेको छ ।
माघमा फाइभ सी-चेकका लागि चीन पठाइएको सगरमाथा न्यारोबडी विमान भुक्तानी प्रक्रियाका कारण एक सातादेखि उतै रोकिएको छ ।
‘चीनमा पठाइएको जहाजको ढिलाइ तथा अन्य कारणका सम्बन्धमा अध्ययन गरी यथार्थ विवरण केलाई कहीँ कसैको कमीकमजोरी पाइएमा कर्मचारी, मेन्टिनेन्स एन्ड रिपेयर अर्गनाइजेसन (एमआरओ) र एजेन्ट समेतलाई कानुनी प्रक्रियाअनुसार कारबाही सिफारिससहित पेस गर्न निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीबाट तीन सदस्यीय छानबिन समिति गठन भएको छ,’ विज्ञप्तिमा लेखिएको छ ।
निगमले अर्को लुम्बिनी न्यरोबडी विमानलाई मर्मत गर्न भारत पठाउने तयारी भइरहेको जनाएको छ । यसका लागि फेरि-फ्लाइट अनुमतिका लागि नागरिक उड्डयन प्राधिकरणमा निवदेन दिइएको छ । यो विमान शनिबारदेखि उडानमा ल्याइने निगमले दाबी गरेको छ ।
आन्तरिक उडानतर्फ दुई महिनादेखि निगमले कुनै पनि उडान गरेको छैन । उसका दुवै ट्विनअटर बिग्रिएर ग्राउन्डेड छन् । निगम व्यवस्थापनले बिग्रिएकामध्ये एउटा आगामी मंगलबारदेखि उडानमा ल्याइने दाबी गरेको छ ।
त्यसैगरी, काठमाडौंमा बिग्रिएर थन्किएको निगमको अन्नपूर्ण वाइडबडीका लागि बेलायतबाट स्पेयर पार्ट्स झिकाइएकाले दिउँसोको उडान यो विमानबाट आजै गरिने निगमले दाबी गरेको छ ।