मङ्गलबार, फागुन १३, २०८१

नेपाल वायुसेवा निगमका जहाज चीन, काठमाडौं र दिल्लीमा थन्किँदा ८ सय १२ यात्रु अलपत्र


१३ फागुन, काठमाडौं  : दुई न्यरोबडी चीन र काठमाडौंमा र एक वाइडबडी दिल्लीमा ‘उडान अयोग्य’ हुँदा नेपाल वायुसेवा निगमले मंगलबार करोडौं रुपैयाँको आम्दानी गुमाउनु परेको छ भने टिकट खरिद गरेर विमानस्थल पुगेका सयौं यात्रु स्वदेश/विदेशमा अलपत्र परेका छन् ।

उडान तालिका सार्वजनिक गरेर निगम व्यवस्थापनले बेलैमा जहाज उपलब्ध गराउन नसक्दा मंगलबार मलेसियाको क्वालालम्पुर, भारतको बैंगलुरु र दिल्लीबाट काठमाडौं फर्किने गरी तीनवटा गन्तव्यका ५ वटा उडान रद्द हुँदा ८ सय १२ यात्रु अलपत्र परेका हुन् ।

निगमका एक निर्देशकका अनुसार आज जहाज अभावमा निगमले मलेसिया र भारतको बैंगलुरुको उडान रद्द गरेको छ । त्यस्तै काठमाडौंबाट दिल्ली पुगेको वाइडबडी विमान पनि नियमित मर्मतमा परेकाले उतै रोकिएको छ । सिचेकका लागि चीन पठाइएको जहाज मंगलबार पनि नेपाल आइपुगेन । उतै रोकियो । तीन दिन साउदी अरबको दमाममा बिग्रिएको लुम्बिनी नामको न्यरोबडी विमान मंगलबार बिहान काठमाडौंमा अवतरण भयो ।

तर, एक साताअघि देखिएको ल्यान्डिङ गियरको समस्या बल्झेपछि निगमका इन्जिनियरले यात्रुको सुरक्षा कारण देखाउँदै यो विमानलाई काठमाडौंमा ग्राउन्डेड गरे । त्यस्तै मंगलबार साँझ ५ बजे दिल्ली पुगेको अन्नपूर्ण वाइडबडी ‘अन सेड्युअल’ मर्मतका कारण इन्जिनियरले दिल्लीमै रोकेका छन् । त्यो विमानबाट २ सय ७२ जना यात्रु मंगलबार बेलुकी काठमाडौं आउनुपर्ने थियो । जसमा अधिकांश शिवरात्रिका लागि आउन लागेका भारतीय तीर्थयात्रीहरु रहेको निगमको मार्केटिङ विभागका एक अधिकारीले बताए ।

दिल्लीमा रोकिएको जहाजको एयर इन्डियाका प्राविधिकहरुले जाँच गरिरहेका छन्’, निगमका एक इन्जिनियरले भने, ‘सम्भवत: वाइडबडी भोलि काठमाडौं फर्किएला ।’ उनले त्यो विमानबाट नेपाल आउन टिकट खरिद गरेका यात्रु कति होटलमा राखिए, कतिले यात्रा रद्द गरे भन्नेबारे एकिन तथ्यांक निगमसँग नभएको बताए । ‘एउटा जहाज चीनमा अड्कियो । अर्को तीन दिन मलेसियामा तीन दिन दमाममा रोकिँदा अन्नपूर्ण वाइडबडीले उडान गर्‍यो । त्यसको मर्मत गर्न नपाइएकाले आज दिल्लीमा ग्राउन्डेड गर्नुपरेको हो’, ती इन्जिनियरले बताए ।

भुक्तानीमा समस्या सृजना भएपछि सीचेकका लागि माघ २० मा चीनको सेनयाङमा रहेको न्यरोबडी सगरमाथा उतै रोकिएको छ । उक्त जहाज मंगलबार काठमाडौं अवतरण गर्ने तालिका थियो । तर त्यो विमान काठमाडौं आउने अझै अनिश्चित रहेको निगमका अधिकारीहरूले बताएका छन् । त्यो जहाज लिन निगमका चालक दलका सदस्य एक साताअघि चीन पुगेका थिए ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ