मङ्गलबार, फागुन १३, २०८१

राष्ट्रसंघको ‘रिजनल युथ पार्लियामेन्ट इन क्लाइमेट एक्सन डाइलग’ मा सांसद सोबिता गौतम सहभागी हुने


१३ फागुन, काठमाडौं  : संयुक्त राष्ट्रको क्षेत्रीयस्तरको युवा संसद् सम्मेलनमा नेपालबाट सांसद सोबिता गौतम सहभागी हुने भएकी छन् । थाइल्यान्डमा फेब्रुअरी २६, २७ र २८ मा आयोजना हुने सम्मेलनमा सहभागी हुन रास्वपा सांसद गौतम मंगलबार थाइल्यान्ड गएकी छन् ।

बैंककस्थित राष्ट्रसंघको क्षेत्रीय कन्फरेन्स हलमा तीन दिनसम्म ‘रिजनल युथ पार्लियामेन्ट इन क्लाइमेट एक्सन डाइलग‘ हुन लागेको हो । यो कार्यक्रममा नेपालबाट महिला विरुद्धको विभेद उन्मूलन कमिटी (सिड)को सदस्य वन्दना राणासँगै विभिन्न क्षेत्रका युवा प्रतिनिधि पनि सहभागी छन् ।

सम्मेलनमा बुधबार मलेसिया र इन्डोनेसियाका प्रतिनिधिसहित जलवायु परिवर्तन, जलवायु नीतिका सन्दर्भमा नेपालका तर्फबाट बोल्ने कार्यक्रम रहेको गौतमले जानकारी दिइन् । ‘एसियाको जलवायुको समस्या र मामिला सबैतिर उस्तै छ । हामीले यसअघि भर्चुअल माध्यमबाट आ-आफ्नो देशले जलवायु परिवर्तनका समब्न्धमा के कस्ता कार्यहरू गरिरहेका छन् भनेर छलफल गरिरहेका थियौं,’ उनले भनिन्, ‘यसपटक बैंककमा भौतिक रूपमा नै जलवायु परिवर्तनको असर, रोकथामका लागि भइरहेको प्रयास र नवीन उपायहरू आदानप्रदान गर्नका लागि कार्यक्रम हुँदैछ ।‘ यो कार्यक्रमले जलवायु परिवर्तनका सम्बन्धमा सबै देशका प्रतिनिधिको सामूहिक प्रयास थप मजबुत हुने उनको भनाइ छ ।

कार्यक्रममा चीन, फिलिपिन्स, मलेसिया, इन्डोनेसिया, श्रीलंका, सिंगापुर, नेपाल, हङकङ, भारत, भुटानलगायत १२ देशका युवा प्रतिनिधि सहभागी हुनेछन् । कार्यक्रमको आयोजक राष्ट्रसंघअन्तर्गतका युएन ओमन, युएनडीपी, युनिसेफ, क्लाइमेट पार्लियामेन्टलगायतले संयुक्तरूपमा गरेका छन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ