९ फागुन, काठमाडौं : भारतीय अन्डा अवैध रूपमा आयात भएपछि नेपाली कुखुरा किसानले अन्डाको मूल्य घटाएका छन् । नेपाल लेयर्स कुखुरा पालक संघको बिहीबार बसेको बैठकले अन्डाको भाउ घटाउने निर्णय गरेको हो ।
संघका अध्यक्ष विनोद पोखरेलका अनुसार नेपाली बजारमा विशेष गरी सीमा जोडिएका बजारमा नेपाली अन्डा बिक्री हुन छाडेपछि किसानले भाउ घटाउन परेको हो ।
‘अहिले बजारमा ३० प्रतिशत अन्डा भारतबाट तस्करी भएर आएको छ । हामीले लागत मूल्यमा बेच्दा पनि बजार पाउने स्थिति छैन । खुल्ला सिमाना र अनुगमन फितलो हुँदा नेपाली किसानहरू मारमा परेका छन्,’ अध्यक्ष पोखरेलले अन्डाको मूल्य घटाउनुको कारणबारे भन्दै गुनासो गरे ।
संघका अनुसार यसअघि २१ माघमा ठूलो अन्डा मूल्य प्रतिक्रेट ४ सय रुपैयाँ थियो भने आजबाट ३७० रुपैयाँ प्रतिक्रेट पर्ने छ । यस्तै, ३८५ रुपैयाँ प्रतिक्रेट रहेको मिडियम अन्डाको मूल्य अब ३५० रुपैयाँ प्रतिक्रेट पर्ने भएको छ ।
दुई दिनअघि सुनसरीको कोशी गाउँपालिकामा बर्ड फ्लू पुष्टि भए पनि नियन्त्रणमा आइसकेकोले त्यसको असर नपरेको उनले बताए ।