शुक्रबार, फागुन ०९, २०८१

इटहरी गोल्डकप : सगरमाथा युथ क्लब फाइनलमा


धरान (सुनसरी), ९ फागुन : धरान फुटबल क्लबलाई १–० गोलअन्तरले हराउँदै सगरमाथा युथ क्लब १५औँ अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रीकेट इटहरी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

इटहरी रङ्गशालामा आज धरान फुटबल क्लब र सगरमाथा युथ क्लबबीच भएको खेलमा सगरमाथाका कुलदिप कार्कीले खेलको २९औँ मिनेटमा निर्णायक गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच भएका कार्कीले रु १० हजार पुरस्कार पाए ।

शनिबार सगरमाथा यूथ क्लब मोरङ र मच्छिन्द्र फुटबल क्लब काठमाडौँबीच फाइनल खेल हुने आयोजक राष्ट्रिय जागृति क्लबका खेल संयोजक अनुरोध थापाले जानकारी दिए । प्रतियोगिताको विजेताले ट्रफीसहित रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार पाउनेछन् ।

विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले रु एक लाख तथा उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही रु २० हजार तथा सर्वाधिक गोलकर्ताले रु २५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ