04/03/2025, 02:35:59

फागुन १ लाई जनक्रान्ति दिवसका रूपमा मनाऔँ : बाबुराम भट्टराई


काठमाडौँ, १ फागुनः नेपाल समाजवादी पार्टी(नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले फागुन १ गतेलाई ‘जनक्रान्ति दिवस’का रूपमा मनाउनुपर्ने बताएका छन् । तत्कालीन सरकारविरुद्ध माओवादीले सशस्त्र संघर्ष सुरु गरेको दिनका अवसरमा शुभकामना दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले फागुन १ लाई राज्य, सबै दल र जनताका तर्फबाट जनक्रान्ति दिवस मनाउनुपर्ने बताएका हुन् ।

बिहीबार सामाजिक सञ्जालमा भट्टराईले लेखेका छन्, ‘शब्दको जुंगाको लडाइँ छोडौं। फागुन १ गतेलाई राज्य र सबै दल, जनताको तर्फबाट प्रत्येक वर्ष ‘जनक्रान्ति दिवस’ का रूपमा मनाऔं!

फागुन १ गते युगान्तकारी जनविद्रोह सुरु भएको दिन भन्दै भट्टराई लेख्छन्, ‘फागुन १ गते। नेपालको युगान्तकारी जनविद्रोह (जनयुद्ध) शुरू भएको दिन! संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक जग खन्न शुरू गरेको दिन। त्यो महायज्ञमा अमूल्य ज्यान अर्पण गर्ने महान शहीदहरू, बेपत्ताजन, घाइते/अपांग योद्धाहरू सबैमा अन्तर्हृदयदेखि उच्च सम्मान!

भट्टराईले १९९७ सालको विद्रोह, २००७ सालको जनक्रान्ति, झापा जनविद्रोह, २०४६ सालको जनआन्दोलन, २०५२-६२ सालको सशस्त्र जनयुद्ध, २०६२/६३ सालको संयुक्त जनआन्दोलन, मधेश विद्रोह, थारू विद्रोह, आदिवासी जनजाति आन्दोलनलगायतका सबै आन्दोलन र क्रान्तिका कडीहरूलाई जोड्नुपर्नेसमेत बताएका छन् ।

तत्कालीन संयुक्त जनमोर्चा नेपालको अध्यक्ष रहेका भट्टराई २०५२ मा नेकपा एकता केन्द्र नेकपा माओवादीमा रूपान्तरण भइसकेपछि स्वत: माओवादी नेता भएका थिए । प्राज्ञिक पृष्ठभूमिका कारण उनी माओवादीभित्र ‘आइडल’ नेताका रूपमा चिनिन्थे । उनी माओवादीबाटै प्रधानमन्त्रीसमेत बनेका थिए । ९ असोज, २०७२ मा माओवादी त्यागेका भट्टराईले आफ्नो नेतृत्वमा ३० जेठ, २०७३ मा नयाँ शक्ति नामक पार्टी घोषणा गरेका थिए ।

२०५२ फागुन १ गतेदेखि तत्कालीन नेकपा माओवादीले ‘जनयुद्ध’ सुरु गरेको थियो । त्यसयता माओवादीले हरेक वर्ष फागुन १ लाई जनयुद्ध दिवसका रूपमा मनाउँदै आएको छ । माओवादी अध्यक्ष दाहालले यसै दिनमा सार्वजानिक बिदा दिने निर्णयसमेत गराएका थिए । गठबन्धन सरकारको निर्णय भए पनि यसको चौतर्फी विरोध भयो । अन्ततः उनी नेतृत्वको सरकारले गरेको यो निर्णय अदालतले नै खारेज गरिदिएको थियो । माओवादीले भने फागुन १ लाई उत्सव र महत्त्वका साथ लिने गरेको छ ।