शनिबार, फागुन १०, २०८१

आहा–रारा पोखरा गोल्डकप : सडन डेथमा एनआरटीलाई हराउँदै चर्च ब्वाइज क्वाटरफाइनलमा


काठमाडौँ, २४ माघः  न्यूरोड टिम (एनआरटी) लाई सडन डेथमा हराउँदै चर्च ब्वाइज युनाइटेड पोखरामा जारी २४ औं आहा–रारा पोखरा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहीबार निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउट हुँदै सडन डेथमा पुगेको हो ।

खेलको २५ औं मिनेटमा एनआरटीका रिचर्ड विल्सनले गोल गर्दै अग्रता दिलाएका थिए । तर खेलको ६४ औं मिनेटमा चर्च ब्वाइजले बराबरी गोल फर्कायो । चर्च ब्वाइजले पाएको पेनाल्टीमा नविन लामाले कुनै गल्ती नगरी सहजै गोल गरे । निर्धारित ९० मिनेट १–१ को बराबरीमा टुंगिएपछि अतिरिक्त ३० मिनेटमा धकेलियो । उक्त समयमा दुवैतर्फबाट कुनै गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा पुग्यो । पेनाल्टी सुटआउट ४–४ को बराबरीमा टुंगिएपछि खेलमा सडन डेथको सहारा लिनुपर्‍यो ।

पेनाल्टी सुटआउटमा चर्च ब्वाइजका नविन लामा, मिलन राई, अकिन्स बाफोउर र अबायोमी फाकुनलेले गोल गरे । सकल रेग्मीको प्रहार पनि क्रसबार माथिबाट बाहिरियो । एनआरटीका कप्तान अञ्जन विष्ट, जय गुरुङ, सुमित श्रेष्ठ र गोलकिपर विशाल सुनारले गोल गरे । एन्जल महर्जनको प्रहार बाहिरिएको थियो ।

सडनडेथमा चर्च ब्वाइजका प्रशान्त लक्षमले पहिलो गोल गरे । त्यसपछि आएका एनआरटीका राजीव लोप्चनले गोल फर्काए । चर्च ब्वाइजका सर्ज ढिकाको पेनाल्टी एनआरटीका गोलरक्षक विशाल सुनारले बचाए ।

एनआरटीका जन्मजय धामीको बल चर्च ब्वाइजका टिकेन्द्रसिंह थापाले बचाएर ५–५ को बराबरी बनाए । चर्च ब्वाइजका राज भुषालको बल विशालले फेरि बचाए । एनआरटीका रिचर्ड विल्सनको प्रहार पनि टिकेन्द्रले बचाएपछि पुनः ५–५ कै बराबरी बन्यो । त्यसपछि टिकेन्द्र आफै पेनाल्टी हान्न तम्सिए । अन्ततः उनको गोल निर्णायक बन्दै चर्च ब्वाइजले क्वाटरफाइनलमा स्थान सुरक्षित गर्‍यो । उनी खेलमा म्यान अफ द म्याच घोषित भए । ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइजले क्वाटरफाइनल खेल माघ २८ मा त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ ।

प्रतियोगितामा शुक्रबार भारतको थन्डरबोल्ट नर्थ युनाइटेड र संकटा क्लबबीच हुने छ ।