बिहिबार, फागुन ०८, २०८१

सत्कर्मका लागि राज्य र संस्था जोडिनुपर्छ : सुदूरपश्चिम मुख्यमन्त्री शाह


सुदूरपश्चिम, २३ माघ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सत्कर्मका लागि राज्य सँगसँगै सङ्घसंस्था पनि आपसमा जोडिनुपर्ने बताउनुभएको छ ।

मानवता प्रवर्द्धन अभियान सञ्चालन गर्दै आएको नेपाल मानवसेवा आश्रमको पहलमा धनगढीमा आज सुरू भएको श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको शुभारम्भ गर्दै मुख्यमन्त्रीले राज्य एक्लैको प्रयासमा मानवीय सेवाजस्ता सत्कर्म गर्न कठिन हुने भएकाले यस्ता कार्यमा सङ्घसंस्था पनि जोडिनुपर्ने बताउनुभयो ।

आश्रमले मानवताका क्षेत्रमा निःस्वार्थ भएर गरिरहेको सेवाको सराहना गर्दै उहाँले आश्रमले लिएको लक्ष्य पूर्णताका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गनुभयो ।

मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले मानवसेवा आश्रमले धनगढी उपमहानगरपालिका–१५ उर्मी गाउँमा मानवीय मन्दिर (भवन) बनाउने लक्ष्यले महायज्ञ गरिएकाले मानवीय सेवामा सहयोग गर्न आग्रह गर्नुभयो । उर्मी गाउँको दुई बिघा जग्गामा निर्माण गर्न लागिएको मानवसेवा आश्रमको भवनका लागि रू ३७ करोडको गुरूयोजना बनेको छ ।

उक्त भवनमा आश्रमको भवनमात्र नभई मानवता अध्ययन केन्द्र र ज्येष्ठ नागरिक मनोरञ्जन केन्द्र स्थापना गर्ने लक्ष्य छ । भवनमा सुदूरपश्चिम प्रदेशका दुई सय ५० जना सहयोगापेक्षी सडक आश्रित मानवलाई संरक्षण एवं सेवा प्रवाह गर्न सकिने जनाइएको छ ।

महायज्ञ मूल आयोजक समितिका संयोजक मदनबहादुर कुँवरको सभापतित्वमा भएको समारोहमा धनगढी उपमहानगरपालिकाका प्रमुख कन्दकला रानाथारू, नेपाल पत्रकार महासङ्घका प्रदेश अध्यक्ष भरत शाहलगायत वक्ताले मानवताका लागि मानवसेवा आश्रमले गरिरहेको गतिविधिको प्रशंसा गर्नुभयो ।

यसअघि धनगढीको शिवपुरी धामबाट बाजागाजा, सांस्कृति झाँकीसहित निस्किएको कलश यात्रा महायज्ञ स्थलमा पुगेर टुङ्गिएको थियो । माघ ३० गतेसम्म हुने महायज्ञमा चर्चित कथावाचक कमलनयन गौतमबाट श्रीमद्भागवत कथा थावाचन हुँदैछ ।

यसैगरी भजनकीर्तन, योगशिविर, विद्यार्थीमाझ साकारात्मक सोच र मानवता प्रवर्द्धन एवं व्यावहारिक शैक्षिक ज्ञानसम्बन्धी कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । महयज्ञमा तुलादान, पितृ उद्धार, धान्याञ्चल, पञ्चायन पूजा, लक्षवर्तीका, ग्रहशान्ति, ८४ पूजा, आदि कार्य पनि गर्न लागिएको छ ।

हालसम्म यस आश्रमले स्वयं आफ्ना लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिनेसमेत केही नभएका ११ हजार एक सय सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा अतिकमजोर र अनाथ मानवहरू) को उद्धार गरेको छ । यीमध्ये पाँच हजारको सामुदायिक तथा पारिवारिक पुनःमिलन गराएको छ । हाल यो आश्रमका विभिन्न जिल्लाका शाखामा झण्डै दुई हजारले सहारा लिइरहेका छन् ।

सुदूरपश्चिम प्रदेशको हकमा धनगढीमा घरभाडामा लिइ सञ्चालित आश्रमको शाखामा हालसम्म चार सय बेसहारा, असहाय, अभिभावकविहीनको उद्धार गरिसकेको छ भने हाल ८० जनाले सहारा लिइरहेका छन् ।