धनगढी, २१ माघ : फ्रेन्ड्स युथ क्लब डडेलधुरा र सीवाईसी अत्तरियाले अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित पाएका छन् । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सोमबार फ्रेन्ड्सले बोस्टन क्रिकेट झापालाई ७७ रनले पराजित गर्यो ।
टस हारेर ब्याटिङ निम्तो पाएको फ्रेन्ड्सले खराब मौसमका कारण १५ ओभर छोट्याइएको खेलमा ३ विकेट गुमाई १ सय ४३ रन बनायो । आयुशमान बमले अविजित ५७ रन बनाए । प्लेयर अफ द म्याच उनले ३६ बलमा ७ चौका र १ छक्का प्रहार गरे । कप्तान सन्दीप जोराले ३० बलमा समान ४ चौका र छक्कासहित ५१ रन बनाए । किरण ठगुन्ना १० बलमा १ चौका र २ छक्कासहित २१ रनमा अविजित रहे । बोस्टनका अरुण ऐरीले २ र पवन कार्कीले १ विकेट लिए ।
बोस्टनले ९ विकेट गुमाई ६६ रनमात्र बनाउन सक्यो । सनम बुढाथोकीले १७ र दीपु भुजेलले १५ रन बनाए । कुशल भुर्तेलले ४, अजय चौहानले २ तथा आवाज गौतम, जोरा र रवि बिष्टले १–१ विकेट लिए । ४ अंकसहित समूह ‘ए’ शीर्षस्थानमा रहेको फ्रेन्ड्सले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
दोस्रो खेलमा अत्तरियाले क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) काठमाडौंलाई ८६ रनले हरायो । लगातार दोस्रो जितसँगै अत्तरिया ४ अंकसहित समूह ‘बी’ को शीर्षस्थानमा छ । टस जितेर ब्याटिङ रोजेको अत्तरियाले २० ओभरमा ८ विकेट गुमाई १ सय ४२ रन बनायो । विवेक यादवले ३५ बलमा ५३ रन बनाउनेक्रममा ४ चौका र ४ छक्का प्रहार गरे । कप्तान सन्तोष कार्कीले २३, सन्दीप क्षेत्रीले १६ र शंकर रानाले १४ रन बनाए । सीईसीका दीपेन्द्र रावत र युनिस ठकुरीले २–२ तथा सूर्य तामाङ, नितेश यादव र विपिन आचार्यले १–१ विकेट लिए ।
जवाफमा सीईसी १२.२ ओभरमा ५६ रनमै अलआउट भयो । सोनु अन्सारीले १५ र विपिन आचार्यले ११ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । अत्तरियाका कमल गुप्ता ५ विकेट लिएर प्लेयर अफ द म्याच भए । दिपेश कँडेलले २, सुशील साउद र शाहब आलमले १–१ विकेट लिए ।
मंगलबार न्यु होराइजन बुटबल र दशरथ चन्द एकेडेमी बैतडी तथा डीसीए धनगढी र बोस्टन क्रिकेट एकेडेमीबीच खेल हुनेछ ।