सोमबार, माघ २१, २०८१

तीन वर्षमा प्रेस काउन्सिल नेपालमा एक हजार छ सय ६६ अनलाइन सञ्चार माध्यम सूचीकृत

©PHOTO CREDIT : PRESS COUNCIL NEPAL

काठमाडौँ, २१ माघ : पछिल्लो तीन वर्षमा प्रेस काउन्सिल नेपालमा एक हजार छ सय ६६ अनलाइन सञ्चार माध्यम सूचीकृत भएका छन् ।

नयाँ खुलेका अनलाइनका सम्पादक र सञ्चालकहरुलाई पत्रकार आचारसंहिताको अभिमुखीकरण दिने क्रममा आज काउन्सिलले उक्त विवरण सार्वजनिक गरेको हो ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले विभिन्न पृष्ठभूमिबाट सञ्चार क्षेत्रमा प्रवेश गर्नेलाई पत्रकार आचारसंहिताको दृष्टिकोणबाट लिइने यस्ता कक्षा उपयोगी हुने बताउनुभयो । “स्वच्छ, मर्यादित, तथ्यपूर्ण र विवादरहित पत्रकारिताका लागि हरेक सञ्चारकर्मीले पत्रकार आचारसंहिताको पूर्णपालना गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

प्रेसले पाएको स्वतन्त्रताको अर्थ जथाभावी अधिकार वा स्वच्छन्दता नभएको उल्लेख गर्दै उहाँले युट्युबसहित सामाजिक सञ्जाल प्रयोग गर्ने सबै सञ्चार माध्यम जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

अग्रज पत्रकार एवं गोरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराई र काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले विषयवस्तुमाथि सहजीकरण गर्नुभएको थियो । पर्याप्त मेहनतसहित निष्पक्ष ढङ्गले गरिने पत्रकारिताले विश्वसनीयता बढाउने अग्रज पत्रकार भट्टराईको सुझाव थियो । उहाँले पत्रकार तथा सञ्चार माध्यमले गर्न नहुने विभिन्न कामका बारेमा प्रकाश पार्नुभयो ।

भुसालले काउन्सिलले विभिन्न समयमा जारी गरेका सञ्चार निर्देशिकाहरुमा केन्द्रित रहेर अन्तरक्रिया गर्नुभएको थियो । विसं २०७८ चैतदेखि नियमित रुपमा सञ्चालन अभिमुखीकरण कक्षा सञ्चालन हुँदै आएको काउन्सिलका शाखा अधिकृत सुवास राईले जानकारी दिनुभयो ।

अनलाइन सञ्चार माध्यम सञ्चालन हुनुअघि सञ्चालक र सम्पादकलाई अनिवार्य रुपमा अभिमुखीकरणमा सहभागी हुनुपर्ने व्यवस्था काउन्सिलले गरेको छ । पत्रकार आचारसंहिता उल्लङ्घन गर्ने पत्रकारलाई काउन्सिलले कक्षामा सहभागी गराउँदै आएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading