लमजुङ, २० माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकलाई सही दिशामा ल्याएपछि मात्रै नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन टुङ्गिने बताउनुभएकोछ ।
लमजुङस्थित मर्स्याङ्दी गाँउपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन पछि सञ्चार मन्त्री गुरुङले मुलुक असफल हुनबाट जोगाउन दुई ठूला दल एक जुट हुनुपरेको धारणा राख्नुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार मन्त्री गुरुङले ठूला दलबीच गठबन्धन गर्नुपर्ने अवस्था आउनुको कारण विगतमा अस्थिर र बेथितिको सत्ता शासन प्रवृत्ति रहेको उल्लेख गर्नुभयो ।
हालको गठबन्धन सरकारले जनतालाई सुशासन, सेवा, विकास र समृद्धिको बाटोतर्फ डो-याउन खोजेको सञ्चार मन्त्री गुरुङको भनाइ थियो । यसै उद्देश्यका साथ सरकारले संसद्मा ल्याएको ६ अध्ययादेश जसरी पनि पास गराउनुपर्ने उहाँले बताउनुभयो । यद्यपी संसद्मा अध्ययादेशको विरोध गरेर प्रतिपक्षि दलले जनताको अहित गरिरहेको उहाँले बताउनुभयो ।
“जनताको समृद्धि टेकेको अध्ययादेशको विरोध गर्नु ठिक होइन,” सञ्चार मन्त्री गुरुङले भन्नुभयो, “मुलुकको विकास र उन्नति चाहनेले छिटोभन्दा छिटो अध्ययादेश पास गराउन सघाउनुपर्छ ।”
अबको ६० दिनभित्र सरकारले ल्याएका अध्यादेश पास गरेर नेपालमा सुशासन कायम गराउने सञ्चार मन्त्री गुरुङले बताउनुभयो । साथै उहाँले एमाले र कांग्रेसबीचको सात बुँदे सहमती पूरा नहुँदासम्म वर्तमान सरकार रहिरहने उहाँले बताउनुभयो । सहमति बुँदामा भएको महत्वपूर्ण विषय संविधान संशोधन रहेकाले यो गठबन्धन सरकारले संविधान संशोधनसमेत गर्ने सञ्चार मन्त्री गुरुङको भनाइ थियो ।
“सङ्घीय शासन प्रणाली लोकतन्त्रको प्रभावकारी शासन प्रणाली हो । संविधान संशोधन गरेर समय सापेक्ष बनाउन आवश्यक छ,” उहाँले भन्नुभयो, “सबैको साझा सहमतिबाटै संशोधन प्रक्रिया पुरा गछौँ ।”
मन्त्री गुरुङले सञ्चार मन्त्रालयमार्फत नेपाललाई सूचनाप्रविधिको क्षेत्रमा अब्बल बनाउने, विद्युतीय शासन प्रणालीको अभ्यास गर्ने, सूचनाप्रविधिबाट रोजगारका सम्भावना खुलाउने, नेपाललाई इन्टरनेट सुविधा सम्पन्न बनाउनेलगायतका कार्य गर्दैै आएको उहाँले बताउनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















