आइतबार, माघ २०, २०८१

फुटबल क्लब र गोल्डकप विजेता क्लबलाई ललितपुर महानगरपालिकाको आर्थिक सहयोग-सहित सम्मान


पाटन (ललितपुर), २० माघः ललितपुर महानगरपालिकाले ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन फुटबल क्लब र गोल्डकप विजेता क्लबहरूलाई आर्थिक सहयोग-सहित सम्मान गरेको छ ।

महानगरले आफ्नो वार्षिक कार्ययोजनाअनुसार आज यहाँ एक कार्यक्रम आयोजना गरी डिभिजनका फुटबल क्लब र गोल्डकप विजेता क्लबहरूलाई क्षमता अभिवृद्धिका लागि आर्थिक सहयोग उपलब्ध गराएको हो ।

महानगर प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले क्लबहरूलाई सम्मानपत्रसहित चेक हस्तान्तरण गर्नुभयो । महानगरले गोल्डकप विजेता क्लब चर्च ब्वाइज युनाइटेड फुटबल क्लबलाई रु २० लाख प्रदान गरेको छ । यस क्लबले अर्ना छैटौँ झापा गोल्डकप २०८०, १४औँ इटहरी गोल्डकप २०८०, सातौँ अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप २०८१, प्रथम झापा क्लब २०८१ र एघारौँ फाल्नुनन्द गोल्डकपमा जित हासिल गरेको थियो ।

यसैगरी, बिग्रेड ब्वाइज क्लबलाई रु आठ लाख हस्तान्तरण गरियो । यस क्लबले छैटौँ बेलबारी अन्तरराष्ट्रिय आमन्त्रण गोल्डकप र अन्तरराष्ट्रिय आमन्त्रण प्रथम इन्ट्रा पथरी शनिश्चरे गोल्डकप खुल्ला ‘नकआउट’ फुटबल प्रतियोगितामा गोल्डकप हासिल गरेको थियो ।

सम्मानित हुनेमा ‘ए’ डिभिजन क्लबअन्तर्गत थ्री स्टार क्लब, जावलाखेल युथ क्लब, फ्रेन्डस क्लब, सातदोबाटो युवा क्लब र चर्च ब्वाइज युनाइटेड रहेका छन् । ‘बी’ डिभिजन क्लबअन्तर्गत च्यासल युवा क्लब, ब्रिगेड ब्वाइज क्लब र खुमलटार युवा क्लब रहेका छन् । ‘डी’ डिभिजन क्लबअन्तर्गत खालीबारी फुटबल क्लब, झम्सिखेल युथ क्लब, पुल्चोक स्पोर्टस क्लब र सानेपा क्लब रहेका छन् ।

महानगरले ‘ए’ डिभिजन क्लबअन्तर्गत रहेका पाँचवटा क्लबहरूलाई रु पाँच÷पाँच लाख, ‘बी’ डिभिजन क्लबअन्तर्गत रहेका तीनवटा क्लबलाई जनही रु तीन लाख र ‘सी’ डिभिजन क्लबअन्तर्गत रहेका चारवटा क्लबलाई रु दुई/दुई लाखका दरले सहयोग गरेको छ ।

महानगरप्रमुख महर्जनले खेलाडी र क्लबलाई प्रोत्साहन गर्न सहयोग गरेको बताउनुभयो । “राष्ट्रका लागि खेल्ने व्यक्तिलाई सम्मान र प्रोत्साहनका गरेका हौँ,” उहाँले भन्नुभयो ।

उपप्रमुख बज्राचार्यले आर्थिक अभावका कारण क्लबहरूलाई खेलक्षेत्रमा उल्लेख्य प्रगति गर्न समस्या भएको बताउनुभयो । त्यसैले खेल र खेलाडीको सम्मान गर्दै खेलाडीलाई महानगरले यो सम्मान गरेको उहाँको भनाइ थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading