आइतबार, माघ २०, २०८१

अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता : डडेल्धुराको विजयी सुरुआत


कैलाली, १९ माघः गो ड्रिर्मसको आयोजनामा धनगढीमा आजदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । स्व अर्जुन खड्काको स्मृतिमा आयोजना गरिएको प्रतियोगितामा डडेल्धुराको फ्रेन्ड्स क्लबले विजयी सुरुआत गरेको हो ।

नेपाली क्रिकेट टोलीका सदस्य कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा डिसिए धनगढीलाई आठ विकेटले हराउँदै फ्रेन्ड्स क्लबले विजयी सुरुआत गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ३२ रन बनायो । सुरुआती विकेट सस्तैमा गुमाएर दबाबमा आएको धनगढीलाई सम्मानजनक योगफलतर्फ पुर्‍याउनका लागि अमित श्रेष्ठले सर्वाधिक ३२ रन बनाए । निर्धारित ओभर सकिन दुई बल बाँकी रहँदा आउट भएका अमितले ३२ बलको सामना गर्दै एक छक्का प्रहार गरे ।

साताँै नम्बरमा ब्याटिङ गर्न आएका निरज ऐरले २७ रन र कप्तान नारायण जोशीले १६ रन बनाए । डडेल्धुराका लागि राहुल लुनियाले तीन, कुशल भुर्तेल र रवि विष्टले दुई/दुई र हेमन्त धामीले एक विकेट लिए । एक सय ३३ रनको लक्ष्य पछ्याएको डडेल्धुराले १५ दशमलव पाँच ओभरमा दुई विकेट गुमाउँदै जित हासिल गरेको हो ।

डडेल्धुराका लागि भुर्तेलले अर्धशतक बनाउँदै ५१ बलमा ८७ रनको अविजित पारि खेले । यसैगरी, विनोद भण्डारीले ४२ रन बनाए । धनगढीका ललित राजवंशी र अमित श्रेष्ठले एक÷एक विकेट लिए । नवजीवन सहकारी संस्था लिमिटेड ‘म्यान अफ दी म्याच’ डडेल्धुराका भुर्तेल भए । उनले नगद रु १० हजारसहित ट्रफी पाए ।

प्रतियोगिताअन्तर्गत भोलि दुईवटा खेल हुनेछन् । पहिलो खेलमा सिवाइसी अत्तरिया र दशरथ चन्द एकेडेमी बैतडी प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा डिसिए धनगढी र घोडाघोडी–११ सुख्खड प्रतिस्पर्धा गर्नेछन् । अर्जुन ट्रफीमा झन्डै रु २० लाख नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । रनिङ ट्रफीका रूपमा टी–२० प्रतियोगिताको विजेताले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाखसहित ट्रफी पाउनेछन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद रु एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही रु ५०÷५० हजार पाउनेछन् । प्रत्येक खेलका ‘म्यान अफ दी म्याच’ लाई नगद रु १० हजार प्रदान गरिनेछ । प्रतियोगितामा देशभरका आठवटा क्लबका टोलीहरुको सहभागिता रहेको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading