काठमाडौँ, १६ माघः प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिसहित समाजका हरेक क्षेत्रमा सुधारको आवश्यकतामा जोड दिँदै ‘स्टन्ट’बाजीबाट देश नचल्ने बताउनुभएको छ ।
नेपाल बार एसोसिएसन र युवा कानुन व्यवसायी सरोकार समाजद्वारा आयोजित पहिलो युवा कानुन व्यवसायी सम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यथार्थमा जनताप्रति इमानदारिता र बफादारिताका साथ सबैले आफ्नो कर्तव्य पूरा गरेर देशलाई भद्रगोल र विपन्नबाट मुक्त बनाउनुपर्ने बताउनुभएको हो ।
उहाँले राजनीतिक दलहरुको नेतृत्व र जनताको सहभागितामा लोकतन्त्र ल्याइएकाले अब शान्तिसुरक्षा, सुशासन र समृद्धि कायम गर्न सबै कटिबद्ध हुनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले सांसदहरुले कानुन बनाउँदा सार्वभौमसत्ता सम्पन्न जनताका तर्फबाट कानुन बनाउँदैछु भन्ने कुरा हेक्का राखेर काम गर्नुपर्ने र सरकारले म नै सर्बेसर्बा हुँ भन्ने भ्रम पाल्न नहुने स्पष्ट गर्नुभयो ।
“संसद्ले न्यायपूर्ण कानुन बनाउनुपर्छ । सम्बन्धित निकायहरु त्यसअनुसार चल्नुपर्छ । सन्तुलत र नियन्त्रणको सिद्धान्तका साथै लोकतन्त्रमा आफैँ कानुनको पालना गर्ने अभ्यास अझ आवश्यक हुन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “देशप्रति साँच्चै इमानदार भएर सुशासनयुक्त, भ्रष्टाचारमुक्त, समृद्ध र सुखी नेपाली बनाउन सकियोस् भनेर सरकार लागिरहेको छ, यसमा कानुन व्यवसायीहरूबाट सक्रिय साथसहयोग प्राप्त हुने विश्वास लिएको छु ।”
प्रधानमन्त्री ओलीले सम्मेलनबाट प्राप्त निष्कर्षसहितको रायसुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै युवा कानुन व्यवसायीले कम पारिश्रमिक पाउने अवस्था अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले विद्यमान सरकार कानुन व्यवसाय र युवाहरुको साथमा रहेको स्पष्ट गर्दै यस क्षेत्रको भलाइ र उन्नतिका पक्षमा कानुन निर्माणलगायतका काममा उचित ध्यान दिने विश्वास दिलाउनुभयो । अन्तर्राष्ट्रिय क्षेत्रका प्रतिनिधिबाट पनि सम्बोधन गरिएको कार्यक्रममा युवा कानुन व्यवसायी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















