बिहिबार, माघ १७, २०८१

खेलकुद क्षेत्रमा रहेको विकृति न्यूनीकरणमा पत्रकारको भूमिका महत्वपूर्णः सञ्चारमन्त्री गुरुङ


कास्की, १२ माघः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले खेलकुद क्षेत्रमा रहेका विकृतिहरु न्यूनीकरणका लागि खेल पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको तेस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिको आज साँझ पोखरामा आयोजना गरिएको शपथ तथा पदस्थापन कार्यक्रममा उहाँले खेलक्षेत्रका गलत प्रवृत्तिलाई अन्त्य गर्नका लागि कलमका माध्यमबाट सहयोग गर्न आग्रह गर्नुभयो ।

खेलक्षेत्र भद्रगोल र अस्थिर छ, खेलक्षेत्रमा नेतृत्वमा बस्नेहरुमा विदेश भ्रमणमा बढी रुचि राख्ने प्रवृत्ति छ । यस्ता गलत प्रवृत्तिको सञ्चारकर्मीले विषय उठाउनुपर्दछ”, मन्त्री गुरुङले भन्नुभयो । सञ्चारमन्त्री गुरुङले पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदान र फुटबल रङ्गशालामा रात्रिकालीन बत्ती (फ्लड लाइट) राख्नका लागि आफूले पहल गर्ने समेत प्रतिबद्धता जनाउनुभयो ।

नेपालको अनलाइन सञ्चारमाध्यममा धेरै समस्या रहेका र मिलेर बसेको समाजलाई विग्रह ल्याउने प्रयास गरेकाले त्यसको नियमनका लागि अनलाइन सञ्चारमाध्यम नियमन विधेयक पारित गरिएको सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले सो अवसरमा जानकारी दिनुभयो ।  कार्यक्रममा सञ्चारमन्त्री गुरुङले खेलकुद पत्रकार मञ्चको नवनिर्वाचित कार्यसमितिका अध्यक्षलगायत पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

यही माघ १० गते सम्पन्न मञ्चको अधिवेशनले मानबहादुर घर्तीमगर (एमबी आस्था) अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो । मञ्चको उपाध्यक्षमा राजाराम पौडेल, उपाध्यक्ष समावेशीमा उमा आलेमगर, महासचिवमा पर्शुराम शर्मा, सचिवमा राजु गिरी र कोषाध्यक्षमा विमल तिवारी रहनुभएको छ ।

कार्यसमितिको सदस्यहरुमा कृष्ण दवाडी, गीता राना, चेतबहादुर (प्रवीण) थापा, बसबहादुर (वसन्त) शेर्पा, रिखिराम जिसी, विजय नेपाली र बालकुमारी पौडेल निर्वाचित हुनुभएको थियो ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारहरुको साझा संस्था हो । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका नाममा विसं २०५७ मा स्थापना भएको हो । सङ्घीयतापछि गण्डकी प्रदेशका रुपमा रहेको यो संस्था विसं २०७५ मा स्वायत्त संस्थाका रुपमा विकास गरिएको हो । मञ्चले खेल पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिम आयोजना तथा उनीहरुको हकहित र सहयोगका क्षेत्रमा काम गरिरहेको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading