बुधबार, माघ ०९, २०८१

कर्णाली प्रदेशसभाले पायो विषयगत समितिका सभापति


काँक्रेविहार (सुर्खेत), ९ माघः कर्णाली प्रदेशसभामा रहेका तीन वटा विषयगत समितिको नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ । सार्वजनिक लेखासमितिको सभापतिमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य विन्दमान विष्ट, सामाजिक विकास समितिको सभापतिमा सत्तारुढ दल नेपाली कांग्रेसका पूर्णबहादुर खत्री र अर्थ तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेकपा एमालेकी प्रदेशसभा सदस्य दक्षिणा कुमारी शाही चयन हुनुभएको छ ।

प्रदेश मामिला समितिको सभापतिमा भने लामो समयदेखि एकीकृत समाजवादीबाट प्रदेशसभा सदस्य कल्याणी खड्का रहनुभएको छ । विषयगत समितिको नेतृत्व टुङ्गो लगाउन प्रदेशसभाले मङ्गलबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । सोही अनुसार आज उम्मेदवारको मनोनयन दर्ताको तालिका रहेकोमा तीन वटै समितिमा एक/एकजनाको मात्रै उम्मेदवारी परेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले बताउनुभयो ।

तीन प्रमुख राजनीतिक दलहरूको सहमति अनुसार सार्वजनिक लेखासमिति प्रमुख प्रतिपक्ष दलले लिएको छ । यसअघि एमालेका जीतबहादुर मल्ल समितिको सभापति हुनुहुन्थ्यो । लेखा समिति प्रतिपक्षलाई दिँदै आएको अभ्यास भएकाले उहाँले असोज १५ गते राजीनामा दिनुभएको थियो ।

तत्कालीन समयमा माओवादी–एमाले गठबन्धन बनेपछि अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति रहेका दुर्गबहादुर रावत ०८१ वैशाख १८ मा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेपछि समिति सभापतिविहीन बनेको थियो । सामाजिक विकास समितिका सभापति रहेका घनश्याम भण्डारी २०८१ साउन २० मा मन्त्री बनेपछि उक्त समिति सभापतिविहीन बनेको थियो ।

सदन नचलेका बेला सरकारलाई निर्देशन दिने, सरकारले गर्ने काम–कारबाहीमाथि निगरानी गर्ने, आवश्यक परे कारबाहीका लागि सिफारिस गर्ने लगायतका जिम्मेवारी रहेका समिति नेतृत्वविहीन हुँदा कतिपय विधेयक दुई वर्षदेखि समितिमा अड्किएका छन् । समितिले नेतृत्व पाएसँगै ती विधेयकका विषयमा छलफल अगाडि बढ्ने देखिएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading