पाटन (ललितपुर), ९ माघ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रलाई नकारात्मक प्रभाव पार्ने ऋण लिन नहुने बताउनुभएको छ ।
पार्टीको आर्थिक नीति तथा योजना विभागद्वारा आज केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘नेपालमा वैदेशिक सहयोगको अर्थराजनीति’ विषयक संवाद गोष्ठीमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका सभापति देउवाले कुनै पनि देशबाट ऋण लिँदा देशलाई नकारात्मक भारमा नपर्नेगरी लिनुपर्नेमा जोड दिनुभएको हो ।
“हाम्रो देश–भारत र चीनको बीचमा छ, त्यसको असर पनि हामीलाई पर्दछ”, सभापति देउवाले भन्नुभयो । उहाँले व्यापार गर्ने र उद्योग खोल्ने काम सरकारको नभएको बताउनुभयो ।
उपसभापति धनराज गुरुङले दातृ निकायबाट ऋण लिने र कार्यान्वयन नहुने पद्धतिको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।
महामन्त्री गगनकुमार थापाले देशको आर्थिक नीतिका विषयमा पार्टीभित्रको छलफललाई बृहत् बनाउँदै नीतिगत व्यवस्थाका लागि सबै राजनीतिक दलहरु र संसद्मा बहस चलाइने बताउनुभयो । “अर्थनीतिका बारेमा तथ्य र प्रमाणका आधारमा बहस हुनुपर्छ, राजनीतिक उत्तेजनाका आधारमा नभई प्राथमिकता र आवश्यकताका आधारमा निर्णय हुने व्यवस्था हामीले तय गर्नुपर्छ”, महामन्त्री थापाले भन्नुभयो ।

सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले नेपालमा वैदेशिक सहयोगको अर्थराजनीतिका सन्दर्भमा देशको रणनीति महत्त्वपूर्ण रहने उल्लेख गर्नुभयो ।
विभागका प्रमुख एवं पार्टीका केन्द्रीय सदस्य प्राध्यापक डाक्टर गोविन्दराज पोखरेलले वैदेशिक सहयोगको अवस्था विश्लेषण गर्दै हाल नेपालमा वैदेशिक ऋण रु एक हजार दुई सय ५३ अर्ब हाराहारीमा रहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठ, अर्थविद् डाक्टर डिल्लीराज खनाल, पूर्वअर्थसचिव रामेश्वर खनाल, त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभागका प्राध्यापक सञ्जय दाहाल, अर्थविद् डाक्टर सेमन्त दाहाल र डाक्टर इन्द्रकुमारी अधिकारीले देशको वैदेशिक अर्थराजनीतिमा आधारित कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














