बिहिबार, पुष २५, २०८१

एकताबद्ध भएर स्ववियु निर्वाचनमा उत्रन प्रधानमन्त्रीको आह्वान


काठमाडौँ, २५ पुसः प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एकताबद्ध भएर चुनावी मैदानमा उत्रन आग्रह गर्नुभएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियुु)ले आसन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका सन्दर्भमा आज एमाले केन्द्रीय कार्यालयमा आयोजना गरेको राष्ट्रिय कार्यशालामा अध्यक्ष ओलीले स्थापित र सफल खेलाडी अरुको वैसाखी नटेकी आफँै दौडिएर पदक जितेको उदाहरण प्रस्तुत गर्नुभयो । अध्यक्ष ओलीले ढुक्क भएर आत्मविश्वासका साथ अगाडि बढ्न प्रेरित गर्दै सफलताको कामना गर्नुभयो ।

मुलुकको राजनीतिक आन्दोलनसँगै गौरवशाली विद्यार्थी आन्दोलन सुुरु भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रजातन्त्र स्थापना पहिले गङ्गालाल श्रेष्ठले मानवअधिकारसम्बन्धी पहिलो भाषण र सङ्गठन बनाउनुुभएको र त्यही समयदेखिको चेतना र विद्रोहका उत्तराधिकारी आफ्नो पार्टी भएको स्पष्ट गर्नुभयो ।

अध्यक्ष ओलीले त्यही बिउ छरेर एकतामा सामेल हुन आउने समूहलाई जोड्दै एमालेलाई अहिलेको राष्ट्रिय शक्ति बनाइएको र अब निर्णायक शक्ति निर्माणको दिशामा अग्रसर भएको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, “विश्वविद्यालय क्षेत्र मुड्की र सशस्त्र सङ्घर्षले लोकप्रिय हुने क्षेत्र होइन । यो राम्रो काम गरेर शान्तिपूर्णरुपमा अगाडि बढ्ने क्षेत्र हो तर कसैले मुड्की देखाउँछ भने हामी चुप लागेर बस्दैनौँ । म साथीहरुलाई राम्रो काममा ‘एग्रेसिभ्ली’ लाग्न आग्रह गर्दछु ।”

कार्यक्रममा प्रधानमन्त्री ओलीले विद्यार्थी महोत्सवसँग सम्बन्धित पुस्तक पनि विमोचन गर्नुभयो ।

एमालेका महासचिव शङ्कर पोखरेलले भविष्यका कर्णधार विद्यार्थी वर्गको पहिलो रोजाइ अनेरास्ववियु मात्रै हुनसक्ने बताउनुभयो ।

अनेरास्ववियुका पूर्वअध्यक्ष एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, एमालेको जनसङ्गठन संयन्त्रका संयोजक भानुुभक्त ढकाल, अनेरास्ववियुका अध्यक्ष समीक बडाललगायत नेताहरुको उपस्थिति थियो । आगामी फागुन १५ गते विश्वविद्यालयहरुमा स्ववियु निर्वाचन हुँदैछ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading