आइतबार, पुष २१, २०८१

कैलालीको टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण


टीकापुर (कैलाली), १९ पुस : कैलालीको टीकापुर क्षेत्रमा चिसो बढेपछि चोकचोकमा दाउरा वितरण थालिएको छ । विभिन्न सङ्घसंस्था र सामुदायिक वन मिलेर चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाउन थालिएको हो ।

तराई क्षेत्रमा विगत पाँच दिनयता चिसो बढेको छ । हुस्सु, कुहिरो तथा शीतलहरले जनजीवन कष्टकर भएपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) नगर कमिटीले भुराखानी सामुदायिक वनसँग रूखका जरा मागेर बजार क्षेत्रका चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाएको छ । एमालेका नगर अध्यक्ष लक्ष्मण थापाले पार्टीले ट्याक्टर र जेसिबीको सहयोगमा सामुदायिक वनसँग दाउरा मागेर बजारका केही चोकमा आगो ताप्ने व्यवस्था मिलाएको बताउनुभयो ।

भुराखानी सामुदायिक वन कार्यालयका सचिव बलबहादुर विकले सर्वसाधारणलाई आगो ताप्ने व्यवस्था मिलाउँछौँ भनी माग भएपछि दाउरा उपलब्ध गराइएको बताउनुभयो । “रूखका जरा निकालेर चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाइएको छ ।

टीकापुर नगरपालिका–४ ले पनि आफ्नो वडामा रहेका चोकहरुमा आगो ताप्ने व्यवस्था मिलाएको छ । ढलेका रुख र रूखका जरा खनेर चोकचोकमा दाउरा वितरण गर्न थालिएकोे वडाध्यक्ष लालवीर चौधरीले बताउनुभयो । ‘‘माघी पर्वको पूर्वसन्ध्यामा गाउँगाउँमा मुढा बाल्ने चलन छ”, उहाँले भन्नुभयो, “चिसो बढेकाले नागरिकलाई राहत होस् भनी दाउरा वितरण गर्न थालेका हौँ ।

यस्तै टीकापुर–७ स्थित सत्ती कर्णाली सामुदायिक वनले समेत ज्येष्ठ नागरिक उपभोक्तालाई दाउरा वितरण गर्ने तयारी गरेको छ । अध्यक्ष जीतराम चौधरीका अनुसार विगतका वर्ष झैँ यस वर्ष पनि सामुदायिक वनमा रहेका रूखका जरा निकालेर दाउरा वितरण गरिनेछ । “गत वर्ष ७० चोकमा दाउरा वितरण गरेका थियौँ”, उहाँले भन्नुभयो, “यस वर्ष पनि तिनै ठाउँमा दाउरा दिइनेछ । चिसो बढेकाले वनसँगै जोडिएका गैरउपभोक्तालाई पनि दाउरा उपलब्ध गराउने गरेका छौँ ।” चोकचोकमा आगो बालेमा बाटोमा हिँड्ने नागरिकलाई समेत सुविधा हुने स्थानीय बताउँछन् ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading