सोमबार, पुष २२, २०८१

विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग


टीकापुर, १९ पुसः सपना विककी आमा सेतु विक छोरीले वडा कार्यालयबाट साइकल पाएपछि मक्ख हुनुहुन्छ । अर्थाभावले छोरीलाई साइकल किन्न अक्षम सेतुको समस्या वडा कार्यालयले टारिदिएपछि आमाछोरी दङ्गादङ्गीमा हुनुहुन्छ ।

कक्षा ९ मा त्रिभुवन माध्यमिक विद्यालय वसन्तामा अध्ययनरत सपनाको रहर पूरा भएको छ । “अरु साथीहरु साइकल चढेर विद्यालय गएको देख्थे, मेरो पनि भइदिए हुन्थ्योजस्तो लाग्थ्यो”, सपना भन्नुहुन्छ, “अब साथीहरुसँगै म पनि लैजान्छु ।

टीकापुर नगरपालिका–४ ले वडामा रहेका १८ जना छात्रालाई साइकल किनिदिएपछि अन्य छात्रा पनि यस्तै सोचिरहेका छन् । साइकल पाएपछि छात्रा मात्र होइन उनीहरुका अभिभावक पनि खुसी भएका छन् । रुपा चौधरीकी आमा शिला चौधरी पनि छोरीले साइकल पाएपछि खुसी हुनुभएको छ । “छोरी आधा घण्टा बढी समय हिँडेर विद्यालय जान्थिन”, शिलाले भन्नुभयो, “पढाइमा राम्रो नतिजा ल्याउने छोरीको आवश्यकता साइकल भए पनि किनिदिन सकेका थिएनौँ ।

हीराकुमारी डगौरा थारुकी छोरी आयुषा चौधरी सरस्वती मावि वनगाउँमा अध्ययन गर्नुहुन्छ । घरबाट विद्यालय पुग्न आधा घण्टा बढी समय लाग्ने भए पनि आयुषा नियमित विद्यालय उपस्थित हुनुहुन्थ्यो । “मलाई कहिलेकाहीँ ढिला हुन्थ्यो, ढिलो भएको दिन आमा आज नजा भन्नुहुन्छ, तर म मान्दिनथेँ”, आयुषाले भन्नुभयो, “अब साइकलमा २० मिनेटमै पुग्छु, समय पनि बचत हुन्छ । आमालाई पनि घरको काममा सघाउन भ्याउँछु ।

कक्षा ११ मा अध्ययनरत सन्ध्या चौधरीलाई पनि क्याम्पस जान समस्या हुन्थ्यो । “बिहान ६ बजे कलेजका लागि हिँड्नुपर्ने भएकाले समस्या थियो”, उहाँले भन्नुभयो, “अब सजिलो भएको छ । आजदेखि कलेज साइकलमा जान्छु ।” टीकापुर नगरपालिका– ४ ले कक्षा ९ देखि १२ सम्म सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार छात्रालाई साइकल वितरण गरेको हो । वडाले साइकल नभएर टाढा विद्यालय हिँडेर जान बाध्य छोरीहरुको शैक्षिक विकासका सहयोग होस् भनी साइकल वितरण गरेको जनाएको छ ।

वडाध्यक्ष लालविर चौधरीले समाज निर्माणमा ठूलो भूमिका महिलाको हुने भएकाले महिला शिक्षित हुनुपर्छ भनेर छोरीलाई अघि बढाउन र स्थानीय सरकार भएको आभाष गराउन साइकल दिएको बताउनुभयो । “यति धेरै समस्या र गरिबी भएर पनि छोरीहरु पढाइमा अब्बल छन्”, उहाँले भन्नुभयो, “यस्ता छोरीहरुको सहयोगी सरकार बन्नुपर्छ भनी यो सहयोग गरेका हाँै ।

वडाले रु एक लाख ६० हजार बजेटमा १८ साइकल वितरण ग¥यो । साइकलका लागि ६० बालिकाको निवेदन परेको थियो । जसमा विपन्न र जेहेन्दारलाई प्राथमिकता दिइएको बताइएको छ । कार्यपालिका सदस्य रुपमति डगौराले छात्राहरुको विद्यालयमा पहुँच वृद्धि गर्न साइकलले मद्दत पुग्ने बताउनुभयो । “लगनशील भएर पढ्नुहोला”, उहाँले भन्नुभयो, “राम्रो पढ्नलाई आर्थिक समस्याले पछि पार्दैन, नगरपालिकाले विपन्न, पढाइमा लगनशील विद्यार्थीलाई छात्रवृत्ति दिने गरेको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading