शनिबार, पुष २०, २०८१

आन्तरिक पर्यटकको रोजाइमा लहानको सिमसार क्षेत्र


सिरहा, १८ पुस : लहानदेखि उत्तरतर्फ पर्ने चुरेक्षेत्र आसपासका सिमसार क्षेत्र वनभोज र घुम्नका लागि उपयुक्त गन्तव्य बन्न थालेका छन् ।

लहानबाट सात किलोमिटर उत्तरतर्फ चुरे फेदीमा अवस्थित ‘हात्तीदह सिमसार तथा पर्यटकीय क्षेत्र’मा जाडोयाममा वनभोज खान आउनेको भीड लाग्न थालेको छ । तीन वर्षअघि ‘कोइरालो खोला नमूना सामुदायिक वन’  भित्रको सिमसार क्षेत्रलाई संरक्षण र व्यवस्थापन गरी ‘इको टुरिजम’ विकास गरिएपछि यहाँ घुम्ने र वनभोज खानेको भीड लाग्न थालेको हो ।

करिब पाँच हेक्टरमा फैलिएको यहाँ बाह्रै महिना पानी नसुक्ने चारवटा पोखरी, वनभोजस्थल र आकर्षक उद्यान छन् । लहान नगरपालिका—१५ स्थित हात्तीदह सिमसार तथा पर्यटकीय क्षेत्र संरक्षण समितिका अध्यक्ष रुद्रनारायण चौधरीेले भन्नुभयो, “यहाँ वनभोज खान सिरहा, सप्तरी, उदयपुर, धनुषा, महोत्तरी तथा छिमेकी राष्ट्र भारतबाट समेत सर्वसाधारण आउने गर्दछन् ।

उहाँका अनुसार हाल सार्वजनिक बिदा बाहेकका दिनमा करिब पाँच समूह वनभोजका लागि यहाँ आउने गरेका छन् । सार्वजनिक बिदाका दिन बीस वटासम्म समूह आउने गर्दछन् ।

लहान—१२ र २२ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल सलहेश फूलबारी, लहान—२४ मा अवस्थित मानिकदह, लहान—१५स्थित गोसाइडाँडा ताल, लहान—१७ स्थित देवीदह लगायतका स्थानमा वनभोजका लागि आउनेको भीड लाग्ने गरेको छ । लहान नगरपालिका–१५ बानोगाउँस्थित ‘झोवाइ खोल्सी चुरियाडाँडा सामुदायिक वन’ भित्रको सिमसार क्षेत्रलाई संरक्षण गरी ‘गोसाइँडाँडा ताल’ निर्माण गरिएपछि वनभोज खान र घुम्न आउनेको सङ्ख्यामा वृद्धि भएको चुरियाडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लगनलाल चौधरीले जानकारी दिनुभयो ।

उत्तरी लहानकै ‘देवीदह सिमसार तथा पर्यटकीय क्षेत्र’ मा पनि पर्यटकको सङ्ख्या बढेको छ । चुरे क्षेत्रका सिमसार क्षेत्रको संरक्षणमा स्थानीय सरकारले चासो देखाउन थालेका छन् । लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले भन्नुभयो, “यहाँका पर्यटकीय क्षेत्रको भौतिक विकासमा हामीले उच्च प्राथमिकता दिएका छौँ ।

अङ्ग्रेजी नयाँ वर्षको अवसरमा बुधबार यसक्षेत्रमा घुम्न र वनभोज खान आउनेको भीड लागेको थियो । विभिन्न देवीदेवताका मन्दिर, वनस्पति, जीवजन्तु र पशुपक्षीको बासस्थानसमेत रहेको यहाँका सिमसार क्षेत्र वनभोज, अध्ययन, अनुसन्धान र अवलोकनका लागि उपयोगी छन् ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading