शनिबार, पुष २०, २०८१

चौरासी वर्षमा पनि वेदकोटका रामस्वरुप राना गाउँबस्ती डुल्दै व्यापार


वेदकोट (कञ्चनपुर), १६ पुसः चाउरी परेको अनुहार, सेतै फुलेका दाह्री, जँुगा, झुत्रा पहिरन र साइकलको पछाडि रङ्गीचङ्गी आकर्षक डोरी । यही हुलियामा सखारै घरबाट निस्किनुहुन्छ, वेदकोट नगरपालिका–१० दैजीका रामस्वरुप राना ।

साइकलमा गाउँबस्ती डुल्दै डोरी बेचेर बेलुकी घर फर्कनु उहाँको दैनिकी हो । ८४ वर्षको वृद्ध उमेरमा पनि उहाँको जोसजाँगर युवावयमा भन्दा कम छैन । उहाँले फालिएका प्लास्टिक सङ्कलन गरेर बनाइएका डोरी, जाल, मुखौरीलगायत बिक्री गरी जीविका चलाइरहनुभएको छ । “छोराहरु बेरोजगार छन् । खेतीपाती गर्न जमिन छैन । बिहान बेलुका के खाउँ, भन्ने अवस्था छ,” उहाँले भन्नुभयो, “डोरी बेचेरै पेट पालिएको छ ।

डोरी, जाल, मुखौरी बनाउने सीप भएका छिमेकीलाई ती तयार गरेबापत रामस्वरुप रु एक सय दिनुहुन्छ । फुर्सदमा उहाँ चाउचाउ, बिस्कुटलगायत प्लास्टिक सङ्कलन गर्नुहुन्छ । भीमदत्त र बेदकोट नगरपालिकाका विभिन्न गाउँबस्ती साइकलमा डुलेर ती सामग्री बिक्री गर्नुहुन्छ । उहाँका अनुसार रु दुई सय ५० देखि पाँच सय सम्ममा ती सामग्री बिक्री हुन्छन् । ग्रामीण क्षेत्रमा वनजङ्गलबाट पातपतिङ्गर ल्याउन जालको प्रयोग गरिन्छ ।

चिसोयाम भएकाले गोठका वस्तुभाउलाई न्यानो बनाउन जङ्गलबाट पात ल्याइने हुँदा जाल बिक्री भइरहेको छ,” उहाँले भन्नुभयो, “आकारअनुसार फरक फरक दरमा बेच्छु । दैनिक दुई/तीनवटा बिक्री हुँदा गुजारा चल्छ ।

सानो आकारको जाल, मुखौरी रु दुई सय ५० र ठूलो आकारको रु पाँच सयमा बिक्री हुने गर्छ । प्लास्टिकबाट निर्मित यस्ता घरायसी सामग्री टिकाउ हुने भएकाले किसानले रुचाउने गरेका छन् । रामस्वरुपका दुई छोरा छन् । उहाँकी श्रीमती ५४ वर्षकै उमेरमा बित्नुभयो । कोरोना महामारीपछि यो व्यापारमा लागेको उहाँ बताउनुहुन्छ । “काम नगरी खान पुग्दैन । डोरीको व्यापारले जीवन धानिएको छ,” उहाँले भन्नुभयो, “बुढेसकालमा काम गर्ने रहर त थिएन तर बाध्यता त्यस्तै आइलाग्यो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading