सोमबार, पुष ०८, २०८१

आधारहीन होइन, आलोचनात्मक पत्रकारिताको खाँचो छ : अध्यक्ष बस्नेत


काठमाडौँ, ७ पुसः प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ‘डिजिटल’ मिडियाबाट आधारहीन आरोपले प्रश्रय पाएको भन्दै सचेत बन्न आग्रह गर्नुभएको छ ।

नयाँ अनलाइनका सम्पादक/प्रकाशकका लागि आचारसहिंता अभिमुखीकरण कार्यक्रमको ५३औँ शृङ्खलाअन्तर्गत आज काउन्सिलमा भएको कार्यक्रममा उहाँले आधारहीन आरोप र पक्षधरताले सञ्चारमाध्यमकै बद्नाम हुने भएकाले तथ्यमा आधारित पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो ।

पत्रकारितामा आलोचनात्मक चेत आवश्यक भए त्यसको नाममा आलोचना मात्रै गर्नु र सन्तुललन गुमाउनु मर्यादित पत्रकारिताविपरित भएको अध्यक्ष बस्नेतको भनाइ थियो । “पत्रकार स्वयम् सजग, सचेत र चनाखो नहुँदा यसको मार मिडिया जगत्ले खेपिरहनुपरेको छ । त्यसैले अहिले आधारहीन आरोप नभई आलोचनात्मक पत्रकारिताको खाँचो छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलले आचारसंहिता आफैँलाई अनुशासनमा बाँध्ने सूत्र भएकाले पत्रकारहरूले यसको सधैँ पालना गर्नुपर्ने बताउनुभयो । प्रेस काउन्सिलको मूल काम नै आचासंहिता निर्माण र लागू गराउने भएकाले पछिल्लो समय नयाँ सूचीकरण हुने अनलाइनलाई अभिमुखीकरण गर्ने काम सराहनीय र प्रभावकारी रहेको बताउनुभयो ।

विषयविज्ञ फूलमान बलले पत्रकार भन्नासाथ बौद्धिक वर्ग भनेर चिन्ने गरिएकाले यसमा प्रश्न उठाउने काम पत्रकार आफँैले गर्न नहुने बताउनुभयो । नेपाल टेलिभिजनका निवर्तमान महाप्रबन्धक उहाँले राज्यले पत्रकारको योग्यतासम्बन्धी स्पष्ट मापदण्ड बनाउन पनि आवश्यक रहेको धारणा राख्नुभयो ।

अग्रज पत्रकार अरुण बरालले पत्रकारितामा आर्थिक सङ्कटसँगै सामग्री (कन्टेन्ट)को सङ्कट देखिएको उल्लेख गर्नुभयो । काउन्सिलका उपप्रशासकीय अधिकृत रहमतुल्ला मियाँले पत्रकार आचारसहिंताअन्तर्गत काउन्सिलले जारी गरेका चार वटा निर्देशिका कार्यान्वयन गरेमा समाचार विवादरहित हुने बताउनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading