सोमबार, पुष ०८, २०८१

राष्ट्रिय चलचित्र पुरस्कार : ‘बुलाकी’ सर्वश्रेष्ठ फिल्म, अभिनेतामा विपिन र अभिनेत्रीमा स्वस्तिमा


काठमाडौँ, १२ मङ्सिर : ‘बुलाकी’ सर्वोत्कृष्ट राष्ट्रिय चलचित्र घोषित भएको छ । बुधबार शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा यस फिल्मले ‘सर्वोत्कृष्ट फिल्म’को ट्रफी उचाल्यो । चलचित्र विकास बोर्डले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८० सालमा सार्वजनिक प्रदर्शनमा आएका फिल्मको प्रतिस्पर्धामा उत्कृष्ट हुने फिल्मलाई १० विधामा पुरस्कार प्रदान गरे ।

उक्त अवसरमा राष्ट्रिय चलचित्र पुरस्कार २०८० र सोही वर्षको विशेष चलचित्र पुरस्कार वितरण गरियो । कर्णालीकी एक निःसन्तान महिलाको कथा पेश गर्ने फिल्म ‘बुलाकी’ले सबैभन्दा धेरै ३ विधा जित्दा ‘दिमाग खराब’ दुई विधामा उत्कृष्ट ठहरियो । राष्ट्रिय चलचित्र पुरस्कार जित्ने सबै फिल्मले २५/२५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

राष्ट्रिय फिल्मको जुरीमा यसपटक बद्री अधिकारी संयोजक र सदस्यमा रविचन्द्र अधिकारी, सुशिल पोखरेल, सोमप्रसाद खतिवडा, गौरीशंकर धुजु, सबनम मुखिया र दीपा पाण्डे बस्नेत छन् ।

कुन फिल्मले कुन विधामा पुरस्कार जिते ?

सर्वोत्कृष्ट फिल्म : बुलाकी
सर्वोत्कृष्ट निर्देशक : निश्चल बस्नेत (दिमाग खराब)
सर्वोत्कृष्ट अभिनेता : विपिन कार्की (प्रसाद २)
सर्वोत्कृष्ट अभिनेत्री : स्वस्तिमा खड्का (दिमाग खराब)
सर्वोत्कृष्ट पटकथा तथा संवाद : राजबहादुर साने (बुलाकी)
सर्वोत्कृष्ट छायांकन : शिव ढकाल (बुलाकी)
सर्वोत्कृष्ट सम्पादन : मित्र डी गुरुङ (महाजात्रा)
सर्वोत्कृष्ट आदिवासी जनजाति फिल्म : लोजिमा (लिम्बु भाषा)
प्रोत्साहन पुरस्कार : स्वस्तिमा कार्की (टुल्की)
सर्वोत्कृष्ट व्यवसायिक फिल्म : जारी


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading