मङ्गलबार, पुष ०९, २०८१

रुससँगको युद्ध कूटनीतिक माध्यमबाट अन्त्य गर्न चाहन्छु : राष्ट्रपति जेलेन्स्की


२ मंसिर, काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुससँगको युद्ध कूटनीतिक माध्यमबाट अन्त्य गर्न चाहेको बताएका छन् । युक्रेनको रेडियो आउटलेट सस्पिल्नेसँगको कुराकानीमा जेलेन्स्कीले यो युद्ध अर्को वर्ष अन्त्य होस् भनेर सक्दो प्रयास गर्नुपर्ने बताएका छन् । ‘हामीले कूटनीतिक माध्यमबाट युद्ध अन्त्य गर्नुपर्छ, यो धेरै महत्वपूर्ण छ,’  जेलेन्स्कीले भनेका छन् ।

अमेरिकाको राष्ट्रपति पद डोनाल्ड ट्रम्पले सम्हालेपछि रुस–युक्रेन युद्ध समाप्त हुने उनको विश्वास छ । ट्रम्प राष्ट्रपति चुनिएपछि आफूले उनीसँग युद्ध अन्त्यबारे कुरा गरेको जानकारी समेत उनले बताएका छन् । ट्रम्पले चुनावी अभियानको बेला रुस–युक्रेन युद्ध एकैदिनमा समाप्त पारिदिने अभिव्यक्ति दिएको स्मरण गर्दै जेलेन्स्कीले त्यो अभिव्यक्ति ट्रम्पले पूरा गर्नेमा आफू विश्वस्त रहेको बताए ।

उनले भनेका छन्– यो निश्चित छ कि ट्रम्पले जुन नीति लिएका छन्, त्यसबाट युद्ध छिटै समाप्त हुनेछ । युद्ध अन्त्यको उनको आफ्नै तरिका छ । उनले आफ्ना नागरिकहरुसँग त्यो बाचा गरेकाले त्यसलाई पूरा पनि गर्ने विश्वास छ ।

रुससँगको लडाइँमा अमेरिकाले युक्रेनलाई सघाएको छ । जो बाइडन प्रशासनले युक्रेनलाई अत्याधुनिक हवाई प्रतिरक्षा प्रणाली, ट्यांकदेखि गोलाबारुदसम्म सहयोग गरेको छ । यसै वर्षको सुरुवामा अमेरिकी संसदले ६१ बिलियन डलरको सैन्य सहायता प्याकेजलाई मन्जुरी दिएको थियो । अमेरिका युक्रेनको हतियारको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading