01/01/2026, 11:07:05
बिहिबार, पुष १७, २०८२

स्टारडम कमजोर बनेको वर्ष २०२५ 


काठमाडौँ, पुस १७ : विश्व फिल्मी बजारमा स्टारडम कमजोर बनेको वर्ष भएको छ– सन् २०२५ । यस वर्ष हलिउडका थुप्रै स्टारहरूका फिल्मले अपेक्षित कमाइ गर्न सकेनन् । प्रदर्शनमा आएका मध्ये धेरैजसो फिल्म पनि फ्लप भए ।

यस्तै, यस वर्ष नेपाली चलचित्र क्षेत्रले फिल्मभित्रको पात्रले झैं आरोह–अवरोह भोग्यो । सामाजिक सञ्जाल बन्द र जेन–जी विद्रोहपछि देशको अवस्थाको असर फिल्म क्षेत्रमा प्रत्यक्ष देखियो । फिल्म प्रचार हुने मुख्य प्लेटफर्म सामाजिक सञ्जाल बन्द भए पनि केही निर्माताले आँट बटुलेरै फिल्म प्रदर्शन गरे । तर, केही फिल्मले प्रदर्शन मिति नै हेरफेर गर्नुपर्‍यो ।

तोकिएको समयमा फिल्म प्रदर्शन गर्न नपाउँदा के हुन्छ ? त्यसको उदाहरण हो, क्राइम विधामा बनेको फिल्म ‘अभिमन्यु : च्याप्टर वान’ । पटक–पटक प्रदर्शन मिति सार्नुपर्दा फिल्म पर्खिरहेका दर्शकले यो फिल्मको प्रदर्शन मिति नै बिर्सिने अवस्था बन्यो । अभिमन्यु मात्रै होइन, जेन–जी विद्रोहपछि देशको परिस्थितिले अन्य फिल्मको प्रदर्शन र कमाइमा असर गर्‍यो ।

यस वर्ष नेपाली फिल्म उद्योग नकारात्मक मात्र होइन, थुप्रै सकारात्मक समाचारको पनि साक्षी बन्यो । व्यावसायिक घराना पनि फिल्म निर्माणमा जोडियो । फिल्म ‘परान’ मार्फत उद्योगी शेखर गोल्छाले फिल्म निर्माणमा हात हाले र सफलता पनि हासिल गरे । हुन त यसअघि व्यावसायिक घरानाले फिल्म निर्माण नगरेको होइन । तर, ‘परान’ ले जुन व्यावसायिक सफलता बटुल्यो, त्यसले उनीहरूलाई फिल्म निर्माणमा निरन्तर लाग्न उत्साहित बनाएको छ ।

फिल्मकै सवालमा ‘जार’ जस्तो एउटा कालखण्ड देखाउने फिल्म आयो, यो वर्ष । अनमोल केसीको ‘जेरी अन टप’ ले युवाको रोजाइ अझै पनि ‘रोमान्स’ विधातिरै रहेको देखाइदियो । ‘गुन्योचोलो : द ड्रेस’ जस्तो यौनिक तथा लैंगिक अल्पसंख्यकका कथामाथिको जोखिम मोलिएको फिल्म होस् या ‘बलिदान’ जस्तो निर्देशक सन्तोष सेनले कोर्न खोजेको क्यानभास, विविधता झल्किने फिल्म यो वर्ष आए । ‘भूठान’ जस्ता बलिया बिम्बहरूको फिल्म होस् या ‘ऊनको स्वीटर’ जस्तो मीठो प्रेमकथाको फिल्म, यसै वर्ष प्रदर्शन भए ।

विश्व बजारमा भने यो पटक नेपालबाट ‘राजागंज’, ‘शाम्बाला’ र ‘गाउँ आएको बाटो’ ले नयाँ बाटो देखाए । फ्रान्समा प्रदर्शन भएको ‘राजागंज’ पाँच अन्तर्राष्ट्रिय एयरलाइन्समा हेर्न मिल्ने गरी प्रदर्शन गरियो । कतार, अमेरिकन, युनाइटेड, लुफ्थान्सा र स्वीस एयरलाइन्सबाट यात्रा गर्ने यात्रुले विमानभित्रै बसेर यो फिल्म हेर्न पाउने सुविधा थियो । ‘शाम्बाला’ ताइवान, ‘गाउँ आएको बाटो’ थाइल्यान्ड र बेलायत प्रदर्शन भए ।

यस वर्षको अन्त्यतिर चलचित्र विधेयकमाथि पनि बहस बढ्यो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विधायन व्यवस्थापन समितिलाई छलफलका लागि विधेयक प्रस्ताव गरेसँगै चलचित्र क्षेत्रका विभिन्न पक्षले यसमा धारणा राखे । फिल्मकर्मीको समूहले प्रस्तावित विधेयकमाथि समिति बनाउँदै सुझाव पनि दिएका छन् ।

विश्व सिनेमामा उथलपुथल

विश्व सिनेमामा त यस वर्ष उथलपुथल नै भयो । अमेरिकी फिल्म निर्माण कम्पनी ‘वार्नर ब्रोज’ लाई नेटफ्लिक्समा समाहित गर्ने विषयले नेटफ्लिक्स र पारामाउन्टबीच विवाद नै भयो । डिसेम्बरको सुरुवातमै हलिउडको यति ठूलो निर्माण कम्पनी नेटफ्लिक्सअन्तर्गतको स्वामित्वमा आउने खबरले विश्व सिनेमामा हलचल आयो ।

के फिल्म निर्माणका सबै शक्ति अब नेटफ्लिक्सको पोल्टामा पुगेको हो ? यो बहसले अहिले विश्व सिनेमा तातिएको छ । ‘वार्नर ब्रोज डिस्कभरी’ नेटफ्लिक्ससँग ‘मर्ज’ हुँदा के यसले नेटफ्लिक्सजस्ता प्लेटफर्मलाई मात्रै मलजल गर्ने त होइन ? यस किसिमको प्रश्नले प्रदर्शक, सर्जक र लगानीकर्तालाई झस्काइदिएको छ । तर, यो लडाइँ र प्रश्नबीच वार्नर ब्रोज डिस्कभरीका प्रमुख डेभिड जास्लाभलाई भने लाभ नै भएको छ ।

यो वर्ष हलिउडले ‘एआई जेनेरेटेड’ ‘पफर्मर’ लाई पनि देख्यो । टिल्ली नरवुड नामको यो कलाकारले आफ्नो प्रस्तुतिमार्फत सबैलाई चकित पारिदिइन् । टिल्लीवुडको प्रस्तुतिपछि उनी मानव रहेको भन्दै कलाकारहरूको समूहले सामूहिक बयान सार्वजनिक गरेको थियो । त्यसपछि यसका निर्माताहरूले उनी एआई विधाअन्तर्गतको एनिमेसन र कथा वाचनको नौलो ‘टुल’ मात्र रहेको तथा यसले मानवलाई विस्थापित नगर्ने घोषणा गर्नुपर्‍यो ।

यो वर्ष हलिउडमा डरको कथाले राम्रै स्थान पायो । रायन कुगलरको भ्याम्पायर फिल्म ‘सिनर’ ले दर्शकलाई मात्रै तर्साएन, बक्स अफिसमै तहल्का पिट्यो । यो फिल्मले हलिउड बक्स अफिसमा ३ सय ६७ लाख अमेरिकी डलर कमायो । अस्करको उत्कृष्ट फिल्मको विधामा मनोनीत यो फिल्मले थुप्रै अवार्डमा आफ्नो आधिपत्य जमाइसकेको छ ।

यो वर्ष लन्डनले थुप्रै सहुलियत दिँदै फिल्मकर्मीलाई आफूतिर आकर्षित गर्न सफल भयो । कुनै समयमा जसरी लस एन्जलस फिल्मका लागि व्यस्त सहर मानिन्थ्यो, त्यही परिचय लन्डनले बनायो । करमा विशेष छुट, विशेष त विदेशी फिल्मलाई ४० प्रतिशत कर छुट दिँदै निर्माण कम्पनीलाई यूकेले आफूतिर तान्यो ।

भीएफएक्स र स्वतन्त्र फिल्मकर्मीका लागि पनि तोकिएको सहुलियतले यो वर्ष विश्व फिल्मकर्मीहरूको आँखा लन्डनतिर रह्यो । बेलायतको फिल्म लन्डन प्रोजेक्टले पाँच वर्षमा लगानी बढाउने उद्देश्यसहित विभिन्न ‘स्किम’ मार्फत फिल्मकर्मीलाई आफ्नो देशमा मात्रै स्वागत गरेन, त्यहीँको फिल्मलाई पनि विश्व बजारको पहुँचमा पुर्‍यायो ।

यस वर्ष मनोरञ्जनका थुप्रै ठूला कम्पनीबाट कर्मचारीले जागिरबाट निकालिनुपर्‍यो । डिज्नीले गत जुनमा धेरै कर्मचारी ‘कटौती’ गर्‍यो । जुलाईमा वार्नर ब्रोजले पनि थुप्रै कर्मचारीलाई बिदा गर्‍यो । लायन्सगेटले सेप्टेम्बरमा ८ प्रतिशत कर्मचारी कटौती गर्‍यो । त्यस्तै, पारामाउन्टले २ अक्टोबरमा एक हजार कर्मचारीलाई अवकाश दिएको छ ।

स्टार कमजोर भएको वर्ष

यस वर्ष ड्वेन जोनसनको ‘द स्म्यासिङ मसिन’ ले घरेलु बक्स अफिसमा मात्रै ११ मिलियन अमेरिकी डलर कमायो । जेनिफर लरेन्सको ‘माइ लभ’ ले ५.५ मिलियन, जुलिया रोबर्ट्सको ‘आफ्टर द हन्ट’ ले ३.२ मिलियन, ग्लीन पावलको ‘द रनिङ म्यान’ ले ४० मिलियन (नर्थ अमेरिका), टम क्रुजको ‘मिसन इम्पोसिबल’ ले २ सय मिलियन अमेरिकी डलर कमायो । अन्य शृंखलाको दाँजोमा टम अभिनीत ‘मिसन इम्पोसिबल’ ले यस वर्ष उत्साहित बनाउने अंक ल्याउन सकेन ।

ब्राड पिटको फिल्म ‘एफ वान’ ले भने अपेक्षित रकम १ सय ८९ मिलियन अमेरिकी डलर उठायो । ‘अक्वाम्यान’ अभिनेता जेसन मोमया यो वर्ष सबैभन्दा धेरै कमाउने फिल्मको अभिनेता बने । उनी अभिनीत एनिमेटेड फिल्म ‘माइनक्राफ्ट’ ले घरेलु बक्स अफिसमा सर्वाधिक कमाइ गर्‍यो । कुखुरामाथि बनेको यो एनिमेसन विधाको फिल्मले बक्स अफिसमा ४ सय २३ मिलियन अमेरिकी डलर कमायो ।

बलिउडतर्फ रणवीर सिंह, अक्षय खन्ना, सञ्जय दत्तजस्ता कलाकारले अभिनय गरेको एक्सन तथा क्राइम विधाको फिल्म ‘धुरन्धर’ ले तहल्का पिट्यो । यो फिल्म पाकिस्तानमा भारतीय जासुसको भूमिकामा आधारित छ । प्रदर्शनको २६ दिन बुधबारसम्म यो फिल्मले विश्वभरि गरेर बक्स अफिसमा १ हजार १ सय २८ करोड भारु उठाएको भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसले जनाएको छ ।

– रीना मोक्तान