मङ्गलबार, पुष ०९, २०८१

फिल्म ‘छक्कापञ्जा ५’मा समावेश ‘ब्रेकअप सङ्’ लाई युट्युवमा २ करोड भ्यूज !


१० कात्तिक, काठमाडौँ । फिल्म ‘छक्कापञ्जा ५’मा समावेश ‘ब्रेकअप सङ्’ले युट्युवमा लोभलाग्दो भ्यूज प्राप्त गरेको छ । स्ट्रिमिङ सुरु भएको एक महिनामै गीतलाई २ करोडभन्दा धेरै पटक हेरिएको छ । गीतलाई २ करोड पटक हेरिएको अवसरमा दीपकराज गिरी, दीपाश्री निरौलासहित ‘छक्कापञ्जा’को समूहले शनिबार बनेपाको शुभकामना हलमा दर्शकसँगै केक काटेर खुसियाली मनाएको छ ।

बाबुल गिरीको शब्द, संगीत, गायन र एरेन्ज रहेको गीतले पछिल्लो समय निकै चर्चा बटुलेको छ । दीपक-दीपाले दर्शकसँगै गीत गाउँदै मनोरञ्जन समेत दिएका थिए । गायनमा उनीहरुलाई दर्शकले पनि साथ दिए । फिल्मको सफलतामा साथ दिने दर्शकप्रति दीपक-दीपाले उक्त अवसरमा आभार व्यक्त गरे । अभिनेत्री वर्षा सिवाकोटी काम विशेषले भारत गएको र केदार घिमिरे ‘माग्ने बुढा’ अर्को फिल्मको छायांकनमा ब्यस्त भएकाले हल भिजिटमा आउन नसकेको तर दर्शकलाई मायाको सन्देश पठाएको दीपकले बताए ।

PHOTO CREDIT : KALAKARMI

दीपक-दीपासहित कार्यकारी निर्माता निर्मल शर्मा, सम्पादक विपिन मल्ल लगायत पनि उक्त अवसरमा थिए । ‘छक्कापञ्जा ५’को प्रवर्धनको सिलसिलामा दीपक-दीपा भक्तपुरको भाटभटेनीस्थित क्यूएफएक्स हलमा पनि पुगेर दर्शकसँग साक्षात्कार गरे । उनीहरुले दर्शकबाट प्रतिक्रिया पनि बुझे । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार फिल्मले १४ दिनसम्म देशब्यापी १७ करोड ६० लाख ग्रस कमाइ गरेको छ । फिल्मले तेस्रो सप्ताहन्त पनि उत्साहजनक कमाइ गरेको छ ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading