12/28/2025, 12:58:27
आइतबार, पुष १३, २०८२

तरलता धेरै भएपछि राष्ट्र बैंकले आज १२ दिनका लागि बजारबाट २० अर्ब झिक्दै


काठमाडौँ, पुस १३ गते ।  वित्तीय प्रणालीमा रहेको अधिक तरलता नघटेपछि आज आइतबार नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले पछिल्ला दिनमा लामो अवधिका लागि पैसा झिक्दै आएको छ ।

तर आज भने निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले १२ दिनका लागि उक्त रकम झिक्न लागेको हो । पछिल्ला तीन वर्षयता राष्ट्र बैंकले सातामा दुई पटक आइतबार र बुधबार नियमित रूपमा बजारबाट पैसा झिक्दै आएको छ । सोही क्रममा आज २० अर्ब रुपैयाँ झिक्न थालेको हो ।

निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म अनलाइन बोल-कबोल गर्न सक्ने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलनमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहु–बोलकबोल गर्न सकिने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।