काभ्रे, पुस ११ : गत कात्तिकमा जिल्लास्थित आईटी पार्कमा उद्घाटन गरिएको सुरक्षण मुद्रण केन्द्रमा सवारी चालक अनुमति पत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) छपाइमा ढिलासुस्ती भइरहेको छ । लाइसेन्स छपाइका लागि सञ्चालनमा आएको सुरक्षण मुद्रण केन्द्रमा यातायात व्यवस्था विभागबाट आवश्यक ‘डाटा’ समयमै प्राप्त हुन नसक्दा छपाइ प्रक्रियामा ढिलासुस्ती भएको केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले जनाए ।
विभागको मुख्य ‘सफ्टवेयर’ र ‘मिडलवेयर’ प्रणाली पूर्णरूपमा सञ्चालनमा नआएकाले लाइसेन्स छपाइका लागि आवश्यक विवरण ‘म्यानुअली’ संकलन गर्नुपरेको छ । ‘बल्क डाटा’को सुविधा नहुँदा एकैपटक हजारौं लाइसेन्स छपाइ गर्न नसकिएको र दिनको तीन–चार सय ‘डाटा’ मात्र तान्न सकिने अवस्था रहेको ढुंगानाले बताए ।
गत २१ कात्तिकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुरक्षण मुद्रण केन्द्रमा लाइसेन्स छपाइको अपौचारिक उद्घाटन गरेका थिए । त्यति बेला केन्द्रमा दिनको ५ सय लाइसेन्स छाप्ने भनिए पनि उक्त संख्यामा काम भएको छैन । ‘सुरुवातमा दैनिक ५ सय लाइसेन्स छपाइ गर्ने योजना रहे पनि हाल विभागबाट सातामा दुई पटक मात्र डाटा उपलब्ध गराइरहेको छ,’ ढुंगानाले भने, ‘एक पटकमा कहिले पाँच–सात सय त कहिले १ हजारसम्म डाटा आउने गरेको र प्राप्त डाटाका आधारमै छपाइ तथा वितरण गर्नुपर्ने अवस्था छ ।’

उद्घाटन भएयता केन्द्रमा हालसम्म करिब ७ हजार लाइसेन्सका लागि ‘डाटा’ प्राप्त भएकामा करिब ६ हजार लाइसेन्स छापेर वितरण गरिएको उनले जनाए । बाँकी ‘डाटा’ पनि दुई दिनभित्र छापेर वितरण गरिने तयारी छ । प्रिन्टिङ कम्पनीले आफूहरू सेवा प्रदायक मात्र भएको र ‘डाटा’ उपलब्ध गराउने, प्रणाली सञ्चालन तथा सेवाग्राहीको विवरणको सम्पूर्ण जिम्मेवारी यातायात व्यवस्था विभागकै रहेको जनाएको छ । विभागबाट सफ्टवेयर प्रणाली पूर्णरूपमा सञ्चालनमा आएपछि छपाइ प्रक्रिया तीव्र हुने अपेक्षा गरिएको ढुंगानाको भनाइ छ ।
पहिलो चरणमा अत्यावश्यकसहित १२ लाख ‘लाइसेन्स’ छपाइ गर्ने केन्द्र र विभागबीच सहमति भएको थियो । हाल देखिएका प्राविधिक समस्या समाधान भएको अवस्थामा ६ महिनाभित्र छपाइ प्रणाली पूर्णरूपमा कार्यान्वयन गर्ने लक्ष्य लिइएको ढुंगानाले बताए ।
विभागले हालसम्म करिब ८ हजार ‘डाटा’ केन्द्रलाई पठाएको र केन्द्रबाट ६५ सय लाइसेन्स छपाइ भएर प्राप्त भएको यातायात विभागका वरिष्ठ कम्प्युटर इन्जिनियर केशव खतिवडाले जनाए । जेन–जी आन्दोलनअघि ‘लाइसेन्स’का लागि औसत दिनको १८ सयदेखि ५ सयसम्म आवेदन आउने गरेको थियो । तर अहिले २ सयदेखि २५० सम्म आकस्मिक आवेदन फार्म आउने गरेको छ । अहिले केन्द्रलाई सातामा ८ सयदेखि १२ सयसम्म ‘डाटा’ पठाउने गरेको उनको भनाइ छ । ‘अहिले हामीले आकस्मिक प्रयोजनको लाइसेन्स छपाइ गरिरहेका छौं । १२ लाख लाइसेन्स छपाइका लागि ब्लक डाटा पठाउनुपर्नेछ । त्यसका लागि विभागले ‘मिडलवेयर पर्सनलाइजेसन सफ्टवेयर’ प्रणाली बनाइरहेको छ ।’
यो प्रणालीमा केन्द्रले ‘ब्लकमा डाटा’ हालेपछि १२ लाख लाइसेन्स छपाइको काम गर्ने सम्झौता गरिएको थियो । सम्झौताअनुसार अबको ४ महिनाभित्र १२ लाख लाइसेन्स छपाइ लक्ष्यअनुसार नै काम भइरहेको खतिवडाले बताए ।
– ज्योती श्रेष्ठ
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











