12/24/2025, 17:06:48
बुधबार, पुष ०९, २०८२

गगन पक्षका पूर्वसांसदले संसद् पुनर्स्थापनाको पक्षमा गरेनन् हस्ताक्षर


काठमाडौँ,  पुस ९ गते ।विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित पुरक रिटमा महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन् ।

विघटित संसद् पुर्नबहालीको मागका लागि बहुमत सदस्य पुर्‍याउनका लागि काँग्रेसमा हस्ताक्षर संकलन गरिएको थियो । काँग्रेसका निवर्तमान प्रमुख सचेतक श्याम घिमिरेले ६५ बढी पूर्व सांसदको हस्ताक्षर गर्ने दाबी गरेका थिए । बहुमतका लागि १३८ सांसद आवश्यक पर्दछ ।

सभापति शेरबहादुर देउवा पक्षका सबैजसो पूर्वसांसदले हस्ताक्षर गरेका छन् । तर, देउवा र उनकी पत्नी आरजु राणाले भने संसद् पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छैनन् ।

महामन्त्री गगन पक्षका पूर्वसांसदहरुले हस्ताक्षर गरेका छैनन् । महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा, पूर्वसांसदहरू अर्जुननरसिंह केसी, प्रदीप पौडेल, लिला बोखिम (लिम्बू), प्रतिमा गौतम, सपना राजभण्डारी, मुक्ताकुमारी यादव, सीता मिजारलगायतले हस्ताक्षर गरेका छैनन् ।

प्रतिनिधि सभा पुनर्स्थापनाको विपक्षमा रहेका नेता अर्जुननरसिंह केसीले संसद् ब्युँतिनु समस्याको समाधान नभएको बताए ।

कार्यवाहक सभापति पूर्णबहादुुर खड्का र उपसभापति धनराज गुरुङले पनि हस्ताक्षर गरेका छैनन् । संस्थापनइतरका नेता डा. शेखर कोइरालाले पनि पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेनन् । उनी पक्षीय पूर्वसांसदहरू अधिकांशले भने हस्ताक्षर गरेका छन् ।

कोइराला पक्षका पूर्वसांसद हृदयराम थानीले संसद् पुनर्स्थापनाको मागमा आफू सहमत नभएको बताए । संस्थापनइतरकै पूर्वसांसद सुरेन्द्रराज आचार्य पनि हस्ताक्षर गरेका छैनन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..