जनकपुर, पुस १ : सात दलीय गठबन्धनले मधेश प्रदेशमा जसपा नेपाललाई सभामुख दिने सहमति गरेको छ । सभामुख चयनका लागि बुधबार बस्ने प्रदेशसभाको बैठकले निर्वाचनको कार्यतालिका प्रकाशन गर्दैछ ।
जसपा नेपालका केन्द्रीय महासचिव एवं प्रदेश सांसद लालबाबु राउतले जसपा नेपाललाई मधेश प्रदेशको सभामुख दिइने सहमति भइसकेको जानकारी दिए । ‘सात दलको बैठकले सभामुख हाम्रो दललाई दिने निर्णय गरिसकेको छ,’ महासचिव राउतले भने, ‘प्रदेशसभाको बैठकले चयनको कार्यतालिका प्रकाशन गरेपछि बैठक बसेर व्यक्तिको टुंगो लगाइने छ ।’
जसपा नेपालले सभामुखमा दलका प्रमुख सचेतक रामआशिष यादवलाई अघि सार्ने देखिएको छ । सभामुखको टुंगो लगाएर मात्र जसपा नेपाल प्रदेश सरकारमा मन्त्री पठाउने भएको छ । कांग्रेसका कृष्णप्रसाद यादवको नेतृत्वमा बनेको सरकारमा जसपा नेपालबाट मन्त्री अझै पठाइएको छैन ।
बुधबार बस्ने प्रदेशसभाको बैठकमा सभामुख चयन प्रक्रिया अगाडि बढाइने कांग्रेसका प्रमुख सचेतक कुवरकान्त झाले जानकारी दिए । उनका अनुसार सभामुखको चयन प्रक्रिया पुस ५ गतेसम्म टुंगिनेछ ।
यता, कांग्रेस नेतृत्वको मधेश प्रदेश सरकारले मंगलबार अपरान्ह लोसपाकी रानी शर्मा तिवारीलाई शिक्षा तथा संस्कृति र नेकपाका जवाहर कुशवाहालाई ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेको छ । त्यस्तै बिनाविभागिय तोकिएका कांग्रेसका जंगीलाल रायलाई स्वास्थ्य तथा जनसंख्या र नेकपाका कनिष्क पटेललाई उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
मुख्यमन्त्री यादवसँग मन्त्री पदको शपथ लिएका जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवलाई त्यति बेला नै अर्थ मन्त्रालयको जिम्मेवारी तोकिएको थियो । मुख्यमन्त्री यादवले भने शुक्रबार विश्वासको मत लिँदैछन् ।
– अजित तिवारी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













