12/08/2025, 00:42:33
आइतबार, मङि्सर २१, २०८२

जेन–जी आन्दोलनको भाइरल जुत्तादेखि कुकुरको टाउकोसम्म, यस्ता छन् चुनाव चिह्न


काठमाडाैं, मङ्सिर १९ गते । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको चुनावका लागि १४३ दलले निर्वाचन आयोगमा दर्ता गराएका छन् । उनीहरूले फरक–फरक चुनाव चिह्नलाई आफ्नो बनाएका छन् । कांग्रेसको रुख, एमालेको सूर्य परम्परागत रूपमा स्थापित चुनाव चिह्न हुन् ।

गत २३ र २४ भदौमा भएको जेन–जी विद्रोहपछि २०८४ मा हुने चुनाव २०८२ मै हुन लागेको हो । नयाँ चुनाव चिह्नको रूपमा जेन–जी आन्दोलनको प्रतीक बनेको जुत्ता पनि छ । दैलेख नारायण नगरपालिका– ८ का प्रकाश बोहराको रक्ताम्मे जुत्ता जेन–जी आन्दोलनको आइकन बनेको थियो । उस्तै देखिने गरी नयाँ राजनीतिक दल नेपाल जनसेवा पार्टीले उस्तै स्वरुपको जुत्तालाई चुनाव चिह्न बनाएको छ ।

निर्वाचन आयोगले सेतो र कालो रङको जुत्ता भनेर सो दललाई चुनाव चिह्न दिएको छ । जेन–जी आन्दोलनपछि उदाएको राजनीतिक दल भएर दलको प्रतीकको रूपमा जुत्ता राखिएको बुझ्न सकिन्छ ।

जसले जनावर र पशुपक्षीलाई चुनाव चिह्नको रूपमा पाए

पशुपक्षीलाई पनि चुनाव चिह्नको रूपमा निर्वाचन आयोगले मान्यता दिएको छ । जनता लोकतान्त्रिक पार्टीले भैँसीलाई चुनाव चिह्नको रूपमा लिएको छ । नागरिक बचाउ दलले खरायोलाई चुनाव चिह्नको रूपमा पाएको छ ।

नेपाल जनजागृति पार्टीले माछालाई चुनाव चिह्न बनाउँदा परिवर्तन पार्टीले पुतलीलाई चुनाव चिह्न बनाएको छ । त्यस्तै, नेसनल रिपब्लिक पार्टीले उडिरहेको माहुरीलाई चुनाव चिह्न बनाएको छ । त्यस्तै, नेपाल विवेकशील पार्टीले कुकुरको टाउकोलाई चुनाव चिह्न बनाएको छ ।

सचेत नेपाली पार्टीले काँधमा गजर भएको सिंहलाई चुनाव चिह्न पाउँदा जनताको जनवादी पार्टी नेपालले फणा उठाएको नाग (सर्प) चुनाव चिह्न पाएको छ । माओवादी कम्युनिस्ट पार्टीले हलो जोतिरहेको किसान भन्दै हलगोरु जोतिरहेको चिह्न पाएको छ ।

त्यस्तै, मंगोल नेसनल अर्गनाइजेसनले कुखुराको भालेलाई चुनाव चिह्न पाएको छ भने जनप्रजातान्त्रिक पार्टी नेपालले गैँडालाई चुनाव चिह्नको रूपमा पाएको छ । विकासशील जनता पार्टीले कछुवालाई चुनाव चिह्नको रूपमा पाउँदा राष्ट्रिय विकास पार्टीले हात्तीलाई चुनाव चिह्नको रूपमा पाएको छ ।

मितेरी पार्टी नेपालले घोडा चुनाव चिह्नको पाएको छ । देशभक्त समाजले जरायो चुनाव चिह्न पाएको छ । राष्ट्रवादी एकता पार्टीले परेवा चुनाव चिह्न पाएको छ भने बहुजन समाज पार्टी नेपालले हाँस चुनाव चिह्न पाएको छ । आधुनिक नेपाल समाजवादी पार्टीले चिट्ठी लिएर उड्न लागेको परेवा चुनाव चिह्न पाउँदा मधेश तराई फोरमले बाघलाई चुनाव चिह्न पाएको छ । नेपाल समावेशी पार्टीले सुगा चुनाव चिह्न पाएको छ भने गान्धीवादी पार्टी नेपालले भेडा चुनाव चिह्न पाएको छ ।

जसले सवारीसाधनलाई चुनाव चिह्नको रूपमा पाए

राष्ट्रिय यथार्थवादी पार्टीले मोटरसाइकललाई चुनाव चिह्नको रूपमा पाएको छ । नेपाल संघीय समाजवादी पार्टीले बसलाई चुनाव चिह्नको रूपमा पाएको छ । नेपाली जनश्रमदान संस्कृति पार्टीले हवाईजहाजलाई चुनाव चिह्नको रूपमा पाएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले साइकल चुनाव चिह्न पाएको छ । नागरिक सेवा पार्टीले स्कुटरलाई चुनाव चिह्नको रूपमा पाएको छ भने जनअधिकार पार्टीले डुंगालाई चुनाव चिह्नको रूपमा पाएको छ ।

जसले मानिस र मानव अंगलाई चुनाव चिह्नको पाए

निर्वाचन आयोगले राजनीतिक दलहरूलाई मानिस, उसले गरेको क्रियाकलाप र मानव अंग तथा अंगले गरिरहेको कामलाई समेत चुनाव चिह्न प्रदाान गरेको छ । आवाज पार्टीले आवाज सुनिरहेको कानलाई चुनाव चिह्नको रूपमा पाएको छ भने समुन्नत नेपाल पार्टीले हात मिलाएको महिला पुरुष (समानता) लाई चुनाव चिह्न पाएको छ ।

जय मातृभूमि पार्टीले काखमा बच्चा लिएकी आमालाई चुनाव चिह्नको रूपमा पाएको छ । त्यस्तै, स्वाभाविमान पार्टीले बालिका बोकेकी महिलाको आकृतिलाई चुनाव चिह्नको रूपमा पाएको छ । पिपुल फस्ट पार्टीले दुई औँला खुलेको तीन औँला बन्द रहेको हातको आकृतिलाई चुनाव चिह्नको रूपमा पाएको छ । राष्ट्रिय जनमुक्ति पार्टीले हात मिलाएकोलाई चुनाव चिह्नको रूपमा पाएको छ । जनता समाजवादी पार्टीले मुट्ठीलाई चुनाव चिह्नको रूपमा पाएको छ । उज्ज्वल भविष्य पार्टीले दुईवटा पैताला छापलाई चुनाव चिह्न पाएको छ भने प्रगतिशील लाकतान्त्रिक पार्टीले खुलेको एक आँखालाई चुनाव चिह्नको रूपमा पाएको छ ।

जनता प्रगतिशील पार्टीले कोदालो बोकेको किसानलाई चुनाव चिह्नको रूपमा पाएको छ । राष्ट्रिय जनता पार्टी नेपालले दायाँ हातले समातेको मसाललाई चुनाव चिह्नको रूपमा पाएको छ । नेपाल सद्भावना पार्टीले पञ्जा छापलाई चुनाव चिह्नको रूपमा पाएको छ भन नेपाल लोकतान्त्रिक पार्टीले दुई हात जोडेको नमस्कारलाई चुनाव चिह्नको रूपमा पाएको छ । युनाइटेड नेपाल डेमोक्रेटिक पार्टीले पुरुषलाई चुनाव चिह्नको रूपमा पाएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..