01/01/2026, 23:56:01
बिहिबार, पुष १७, २०८२

करिश्मा–रेखा जम्न नसकेको नेपालको राजनीति, कस्तो होला रिमा–एलिजाको भविष्य ?


काठमाडौँ, मङ्सिर १८ गते । ग्ल्यामर र रिल लाइफबाट रियल लाइफमा राजनीतिक दलमा लाग्ने सेलिब्रेटीहरू नेपाली राजनीतिमा टिकेका छैनन् । राजनीतिमा टिक्न दल अदलबदल गरेकाहरूले पनि सफलता पाएका छैनन् । पुराना सेलिब्रेटीहरू रेखा थापा, करिश्मा मानन्धर, कोमल वलीहरूलाई राजनीतिमा टिक्न गाह्रो भयो । उनीहरूले दल बदले पनि प्रगति भएन ।

राजनीतिमा आउन खोजेकी करिश्मा मानन्धर त पटक–पटक ट्रोलको शिकार बनिन् । अहिले नायिका एलिजा गौतमलाई पनि धेरैले मजाकमा उडाइरहेका छन् । ‘आउनुस् तपाईंजस्तो युवा चाहिन्छ हामीलाई । यति ह्यान्डसम, यति डाइनामिक, इन्टेलिजेन्स् सबै कुरामा पर्फेक्ट मान्छे अब दायाँबायाँ नगइकन, अरुको कुरा नसुनिकन डाइरेक्ट आउनुस्,’ गौतमले दल दर्ता गरी निर्वाचन आयोगबाट बाहिरिँदै गर्दा भनेको यो कुराले उनी ट्रोलको शिकार बनिन् । उनी उपाध्यक्ष रहेको जनादेश पार्टी निर्वाचन आयोगमा दर्ता हुने प्रक्रियामा नै थियो गौतम ट्रोल बन्दा । उनको पार्टीले ५ सय जनाको हस्ताक्षर सनाखत गराउन झमेला झेलेको थियो ।

गौतमलाई राजनीतिक ब्याकअप भनेको श्रीमान् ऋषि धमलाको साथ हो । धमला नेपाली राजनीतिक दलका नेताहरूभन्दा धेरै पत्रकारिता क्षेत्रबाट चर्चित छन् । उनकी पत्नी गौतमले ग्ल्यामर क्षेत्र छोडेको या नछोडेको प्रस्ट खुलाएकी भने छैनन् । पछिल्लो समय उनी सार्वजनिक कार्यक्रममा पनि कम देखिएकी छन् । उनले सहकारीपीडितको पक्षमा सडक प्रदर्शनसमेत गरेकी थिइन् । टङ स्लीप हुँदा उनले ‘सहकारी पीडितलाई कारबाही गर’ भन्न पुगेकी थिइन् । त्यसले पनि उनी ट्रोल बनेकी थिइन् ।

निर्वाचन आयोगमा दर्ता प्रक्रिया पूरा गरेर बुधबारमात्र घोषणा भएको उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य छिन् मोडल, नायिका तथा स्टेज होस्ट रिमा विश्वकर्मा । कम विवादमा आउने सेलिब्रेटी अनुहार मध्येमा विश्वकर्मा पनि एक हुन् । उनको करिअरमा दोस्रो चरण सुरु भएको छ । उनको पार्टी अहिलेका मन्त्री कुलमान घिसिङबाट प्रेरित छ । बुधबार आयोजित पार्टीको घोषणासभामा विश्वकर्माले देशले परिणाममुखी नेतृत्व खोजिरहेको बताइन् । घिसिङको कार्यशैलीबाट आफू प्रभावित भएको उनको भनाइ थियो ।

‘जब ममा राजनीतिक चेत आयो, यो देशमा सरकारमा बसेर कसैको नेतृत्वले मेरो दैनिकी र मेरो जीवनशैलीमा प्रत्यक्ष प्रभाव पारेको थियो भने त्यो लोडसेडिङ अन्त्यको निर्णय थियो । मैले त्यसैदिन कुलमान घिसिङलाई अगुवा मानेको थिएँ,’ घिसिङ बारेमा विश्वकर्माले भनिन् । घिसिङले घर–घरमा उज्यालो ल्याएको भन्दै आफूहरू देश उज्यालो बनाउने अभियानमा लागेको विश्वकर्माको भनाइ थियो । ‘१८ घण्टे लोडसेडिङलाई हटाएर उहाँले तपाईं र हाम्रो घरमा त उज्यालो ल्याइसक्नुभयो । अब उज्यालो नेपाल पार्टीमार्फत देशको भविष्य उज्यालो बनाउने महाअभियानमा लागेका छौँ’, उनले भनिन् ।

विश्वकर्माले अब आफूले उठाउने आवाज आवाजविहीनहरूको आवाज हुने प्रण गरिन् । ‘अब मैले उठाउने विषय, उठाउने आवाज र म उभिने मञ्च आफ्नो व्यक्तिगत निजी सफलताका लागि मात्र नभएर आवाजविहीनहरूको आवाज बन्न प्रण गर्नेछु’, उनले भनिन् ,‘महिलाहरूको प्रतिनिधित्व गर्न, युवाहरूले उठाएका मुद्दालाई स्थापित गर्न र राज्यले समान भनेका अल्पसंख्यक तथा उपेक्षित समुदायको अधिकारलाई व्यवहारमा उतार्नका लागि उपयोग गर्ने प्रण गरेको छु ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीले मिस नेपाल २०२४ की विजेता आस्मा कुमारी केसीलाई सिधै केन्द्रीय सदस्य बनायो ।  राप्रपाले ‘नवीन राप्रपा’ कार्ययोजना अन्तर्गत ४० वर्षमुनिका २० जनालाई सोझै केन्द्रीय सदस्य बनाउने आकर्षक ‘प्याकेज’मा उनी केन्द्रीय सदस्यमा मनोनीत भएकी हुन् ।  त्यसो त सेलिब्रेटी राजनीतिमा होमिनु नौलो कुरा त थिएन नै । त्यसमा पनि राप्रपाले निकै चलेका अनुहारहरूलाई आफ्नो पार्टीमा प्रवेश गराएको छ ।

२०७३ मा लोकगायिका तथा सञ्चारकर्मी कोमल वलीले पनि राप्रपा प्रवेश गरेरै राजनीतिक यात्रा सुरु गरेकी थिइन् । राप्रपा नेपाल र राप्रपाको पार्टी एकता घोषणा कार्यक्रममा कोमललाई तत्कालीन अध्यक्ष कमल थापाले फूलमाला लगाइदिएर पार्टीमा स्वागत गरेका थिए । तर, उनको पार्टी प्रवेश नै विवादमुक्त हुन सकेको थिएन । त्यसबेला रेडियो नेपालको जागिर गरिरहेको बेला राप्रपा प्रवेश गरेको भन्दै आलोचना भएको थियो । त्यसपछि वली रेडियो नेपालको जागिरबाट राजीनामा दिएर राजनीतिमा होमिएकी थिइन् ।

राप्रपाको एकीकरण महाधिवेशनबाट केन्द्रीय सदस्यको चुनाव पनि उनले जितिन् । तर, उनको राप्रपाको यात्रा लामो भने रहन सकेन । राप्रपाको विभाजन र स्थानीय तहको निर्वाचनमा पार्टीले सन्तोषजनक जनमत नपाएपछि उनी २०७४ मा एमाले प्रवेश गरिन् ।

त्यसपछि उनलाई एमालेले राष्ट्रियसभा सदस्य बनायो । २०७९ सालको चुनावमा दाङ ३ बाट प्रतिनिधिसभाको चुनावमा उम्मेद्वार पनि एमालेले बनायो । उनले चुनाव हारिन् । अहिले वली एमालेमा सक्रिय भएको देखिँदैन । वलीसँगसँगै नायिका रेखा थापा पनि राप्रपा गरेकी थिइन् । पार्टी प्रवेशलगत्तै केन्द्रीय सदस्यमा मनोनीत भएकी रेखाले पार्टी एकीकरणपछिको राप्रपाको पहिलो एकीकरण महाधिवेशनमा केन्द्रीय सदस्यको चुनाव जितिन् । पछि राप्रपाको एकता महाधिवेशनमा राजेन्द्र लिङ्देन समूहबाट महामन्त्री लडेकी थापा कुन्ती शाहीसँग पराजित भइन् । पछि उनलाई लिङ्देनले केन्द्रीय सदस्य मनोनीत गरेका छन् ।

थापाले २०७९ को प्रतिनिधिसभाको चुनावमा मोरङ ३ बाट टिकट पाएकी थिइन् । तर, उनले चुनाव हारिन् । त्यसपछि अहिले उनी पार्टीका गतिविधिमा खासै सक्रिय छैनन् । फिल्म निर्माणमै व्यस्त उनी राजनीतिक गतिविधिमा सहभागी भएको देखिँदैन । अहिले उनी पारिवारिक जीवनमा व्यस्त छिन् । थापा राप्रपामा आउनुअघि माओवादीमा सक्रिय थिइन् । एकपटक प्रचण्डसँग नाचेको उनको भिडियो चर्चित छ ।

नायिका करिश्मा मानन्धर एमालेमा प्रवेश गर्दा नै ट्रोल बनेकी थिइन् । उनले ‘मेरो न्वारनको नाम सूर्यकुमारी हो’ भनेकी थिइन् । ट्रोल बनेपछि उनले आफ्नो फेसबुकमा नामको कोष्ठमा सूर्यकुमारी राख्न थालेकी छिन् । उनको पनि रिल लाइफ जस्तो राजनीतिको रियल लाइफ चलेको छैन ।

– दिपेन्द्र अधिकारी


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..