12/02/2025, 01:44:11
सोमबार, मङि्सर १५, २०८२

इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो


जाकार्ता, मङ्सिर १५ गते । इन्डोनेशियाको सुमात्रा टापुका तीन प्रान्तमा आएको विनाशकारी बाढी र पहिरोले मृत्यु हुनेको सङ्ख्या ५०२ पुगेको छ भने ५०८ जना अझै बेपत्ता रहेको इन्डोनेशियाको राष्ट्रिय दैवी प्रकोप व्यवस्थापन निकायले सोमबार जनाएको छ ।

निकायका अनुसार उद्धार कार्य प्रभावित क्षेत्रमा तीव्र गतिमा जारी रहेको छ । उत्तर सुमात्रा, पश्चिम सुमात्रा र अचेह प्रान्तमा आएको बाढीका कारण झण्डै पाँच लाख ५० हजार मानिस विस्थापित भएको उल्लेख गरिएको छ ।

सडक अवरुद्ध हुनुका साथै सञ्चार अवरुद्ध भएकाले केही प्रभावित क्षेत्रमा पुग्न मुस्किल परेको र बचाउ तथा राहत सामग्री मुख्य रूपमा हवाई माध्यमबाट पुराइनुपर्ने अवस्था रहेको निकायले जनाएको छ ।

सोमबार इन्डोनेशियाका राष्ट्रपति प्राबोवो सुबियान्तोले सरकारका उद्धार तथा राहत प्रयासहरू पूर्ण क्षमतासहित अघि बढाइएको बताउनुभयो ।

उहाँले इन्डोनेशियाले जलवायु परिवर्तनका चुनौतीहरूलाई प्रभावकारी रूपमा सामना गर्नुपर्ने र स्थानीय सरकारहरूले वातावरण संरक्षण तथा आगामी चरम मौसमी घटनाका तयारीमा अझ ठूलो भूमिका खेल्नुपर्ने आवश्यकता जोड दिनुभयो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..