काठमाडौँ, ७ मंसिर : २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा भाग लिन शुक्रबारसम्म ४० दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । निर्वाचनम भाग लिन चाहने दललाई दर्ता हुन १ देखि १० मंसिरसम्म समयसीमा तोकिएको छ ।
विघटित प्रतिनिधि सभामा पहिलो दल रहेको कांग्रेस र दोस्रो रहेको एमालेले भने हालसम्म निर्वाचनका लागि दल दर्ताको निवेदन दिएका छैनन् । कांग्रेसले शनिबार निर्वाचनमा भाग लिने निर्णय गरेको छ । तर, एमालेले अझै प्रतिनिधिसभा पुनःस्थापनाको माग उठाउँदै आएको छ ।
आयोगले अहिले प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै निर्वाचनका लागि दल दर्ताका लागि निवेदन आह्वान गरेको हो । ११ माघमा राष्ट्रिय सभाको रिक्त हुने १९ सिटका लागि निर्वाचन हुँदै छ । राष्ट्रिय सभा निर्वाचनमा भाग लिन आठ दल दर्ता भएका छन् ।
आयोगमा सूचीकृत दलको संख्या भने १२९ पुगेको छ । पछिल्लो समय १० नयाँ दल दर्ता भएका हुन् । यी सूचीकृत दलहरू निर्वाचनमा भाग लिन पुनः दर्ता हुनुपर्ने कानुनी व्यवस्था छ । संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ मा आयोगमा दर्ता भएका दलले सम्बन्धित निर्वाचनमा भाग लिन पुनः दल दर्ता गराउनुपर्ने उल्लेख छ । आयोगले निर्धारण गरेको समयतालिकाभित्र दर्ताका लागि आउने दलहरूले मात्रै निर्वाचनमा भाग लिन पाउने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
प्रतिनिधिसभा निर्वाचनमा भाग लिन नेकपा, रास्वपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा, जनमत पार्टीले निवेदन दिएका छन् । यस्तै, नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी), जसपा नेपाल, जसपा, नेपाल सद्भावना, देश विकास, प्रगतिशील लोकतान्त्रिक, देशभक्त समाज, नेपाल लोकतान्त्रिक, आम जनता, मंगोल नेसनल अर्गनाइजेसन र बहुजन शक्ति पार्टीले पनि दल दर्ताका लागि निवेदन दिएका छन् ।
त्यसैगरी, नेपाल मानवतावादी, नेपाल जनता संरक्षण, नेपाल जनता, राष्ट्रिय समता पार्टी नेपाल, संयुक्त नागरिक, नेपाल जनमुक्ति, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त), राष्ट्रिय यथार्थवादी पार्टी नेपाल र नेपाल परिवार दलले दर्ता निवेदन दिएका छन् । राष्ट्रिय जनता पार्टी नेपाल, समावेशी समाजवादी पार्टी नेपाल, जनप्रजातान्त्रिक पार्टी नेपाल, विकासशील जनता पार्टी, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय एकता दल र संघीय नेपाल पार्टीले पनि निर्वाचनमा भाग लिने जनाएका छन् ।
त्यस्तै, प्रतिनिधिसभा निर्वाचनका लागि संघीय नेपाल पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनश्रमदान संस्कृति पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, राष्ट्रिय साझा पार्टी र परिवर्तन पार्टीले दल दर्ताको निवेदन दिएका छन् ।
राष्ट्रिय सभा निर्वाचनका लागि भने एमालेले दल दर्ता गराइसकेको छ । त्यसबाहेक नेकपा, नेमकिपा, बहुजन शक्ति, जसपा नेपाल, राष्ट्रिय जनमोर्चा, जनमत र नागरिक उन्मुक्ति पार्टी नेपालले दल दर्ताको निवेदन दिएका छन् । राष्ट्रिय सभा निर्वाचनका लागि आयोगले दिएको दल दर्ताको समय आइतबार सकिँदै छ ।
आयोगमा सूचीकृत भएका नयाँ १० दलमा धरानका मेयर हर्कराज राईको श्रम संस्कृति पार्टी, दिनेशराज प्रसाईंको गतिशील लोकतान्त्रिक पार्टी, कविर सोपको नागरिक उन्मुक्ति पार्टी नेपाल र राजेश प्रतेलको नेतृत्वमा राष्ट्रिय परिवर्तन पार्टी छन् । यस्तै, रियाज अहमद शेषको राष्ट्रिय जनमत पार्टी, नेत्रविक्रम चन्दको नेपाल कम्युनिस्ट पार्टी (माओवादी), अकबर खानको राष्ट्र निर्माण दल नेपालले दल दर्ताको प्रमाणपत्र पाएका छन् ।
त्यसैगरी, योगेन्द्र मण्डल नेतृत्वको राष्ट्रिय ऊर्जाशील पार्टी नेपाल, प्रशान्त सिंह नेतृत्वको पिपुल फर्स्ट पार्टी र अनुपकुमार उपाध्याय नेतृत्वको उज्यालो नेपाल पार्टी दर्ता भएको छ । आयोगमा २८ नयाँ दल दर्ताको प्रक्रियामा छन् । दल दर्ताका लागि ५ सय जना समर्थक चाहिन्छ । उनीहरू निर्वाचन कार्यालयमा उपस्थित भएर सनाखत गर्नुपर्छ । त्यही प्रक्रिया पूरा गर्न कतिपय दललाई कठिनाइ भएको देखिन्छ । आयोगको कानुन तथा राजनीतिक दल महाशाखाका कर्मचारीका अनुसार दर्ता प्रक्रियामा रहेका २८ दलमध्ये ३/४ वटाले मात्रै १० मंसिरसम्म ५ सय जनाको सनाखत गराउन सक्ने देखिएको छ ।
निर्वाचन आयोगले नयाँ मतदाताका लागि नाम दर्ता गराउन ५ मंसिरसम्म दिएको समयसीमाभित्र ८ लाख ३७ हजार ९४ जनाले आवेदन दिएका छन् । आयोगका अनुसार ९ असोजदेखि ५ मंसिरसम्म निर्वाचन कार्यालयमा बायोमेट्रिक दिएर नाम दर्ताका लागि आवेदन दिनेको संख्या ३ लाख ४४ हजार ९ सय १४ छ । २७ कात्तिकबाट मतदाता नामावलीको लिंक राष्ट्रिय परिचपत्रसँग जोडिएको थियो । त्यसयता एक साताको अवधिमा राष्ट्रिय परिचपत्रको माध्यमबाट आवेदन दिनेको संख्या ४ लाख ९२ हजार १ सय ८० छ ।
मतदाता नामावली ऐनअनुसार संकलित नाममाथि दाबी विरोध लगायतका कानुनी प्रक्रिया पूरा गरेपछि मात्रै अन्तिम मतदाता नामावलीमा नयाँ नामहरू समावेश हुनेछन् । अहिले १ करोड ८१ लाख ६८ हजार २ सय ३० मतदाता छन् । आयोगले २० मंसिरमा कुल मतदाता नामावली प्रकाशन गर्नेछ ।
नामावलीमा कुनै त्रुटि भए सच्याउन २१–२७ मंसिरमा आयोगको वेबसाइटमार्फत, प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा निवेदन, उजुरी वा सूचना दिन सकिनेछ । प्राप्त उजुरी, सूचना र गुनासामाथि छानबिन गरी आयोगले १५ पुसमा सम्बन्धित निर्वाचन कार्यालय र वडा कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ ।
निर्वाचनमा भाग लिन निवेदन दिएका ४० दल
१. नेपाली कम्युनिस्ट पार्टी
२. राष्ट्रिय स्वतन्त्र पार्टी
३. जनता समाजवादी पार्टी नेपाल
४. जनमत पार्टी
५. जनता समाजवादी पार्टी
६. नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी)
७. नागरिक उन्मुक्ति पार्टी नेपाल
८. नेपाल सद्भावना पार्टी
९. राष्ट्रिय जनमोर्चा
१०. नेपाल जनता संरक्षण पार्टी
११. नेपाल जनता पार्टी
१२. राष्ट्रिय समता पार्टी नेपाल
१३. संयुक्त नागरिक पार्टी
१४. नेपाल जनमुक्ति पार्टी
१५. नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)
१६. राष्ट्रिय यथार्थवादी पार्टी नेपाल
१७. नेपाल परिवार दल
१८. राष्ट्रिय जनता पार्टी नेपाल
१९. नेपाल मानवतावादी पार्टी
२०. समावेशी समाजवादी पार्टी नेपाल
२१. जनप्रजातान्त्रिक पार्टी नेपाल
२२. विकासशील जनता पार्टी
२३. राष्ट्रिय नागरिक पार्टी
२४. राष्ट्रिय परिवर्तन पार्टी
२५. नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
२६. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
२७. राष्ट्रिय एकता दल
२८. संघीय नेपाल पार्टी
२९. गतिशील लोकतान्त्रिक पार्टी
३०. नेपाल जनश्रमदान संस्कृति पार्टी
३१. राष्ट्रिय साझा पार्टी
३२. परिवर्तन पार्टी
३३. देश विकास पार्टी
३४. प्रगतिशील लोकतान्त्रिक पार्टी
३५. देशभक्त समाज
३६. नेपाल लोकतान्त्रिक पार्टी
३७. नेपाल मजदुर किसान पार्टी
३८. आम जनता पार्टी
३९. मंगोल नेसनल अर्गनाइजेसन
४०. बहुजन शक्ति पार्टी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














