11/11/2025, 13:07:37
मङ्गलबार, कार्तिक २५, २०८२

उत्साहजनक व्यापार गर्दै चलचित्र ‘परान’


चितवन, कात्तिक २५ : एक वर्षपछि नेपाली चलचित्रले फेरि राम्रो व्यापार गर्न थालेको छ । गत वर्ष पूर्णबहादुरको सारङ्गी चलचित्रले राम्रो व्यापार गरेको चितवनमा यस वर्ष ‘परान’ चलचित्रले व्यापार वृद्धि गर्दै लगेको हो ।

नेपाली चलचित्रको इतिहासमा आक्रामक व्यापार गरेको पूर्णबहादुरको सारङ्गीकै गतिमा ‘परान’ चलचित्रले गति लिन थालेको हल सञ्चालकको भनाइ रहेको छ । अघिल्लो शुक्रबार प्रदर्शनमा आएको यो चलचित्रको व्यापार सुरुका दिनमा कम भए पनि विस्तारै वृद्धि हुँदै गएको जलमा क्युएफएक्सका सञ्चालक विकास पोखरेल बताउनुहुन्छ ।

दुई वटा चलचित्र हल रहेको मेरोमा दैनिक पाँचदेखि छ वटा सो ‘परान’ ले पाएको छ,” उहाँले भन्नुभयो, “सबै सोमा दर्शक भरिएका छन् ।” परिवारका सदस्यसहित आउनेको सङ्ख्या धेरै रहेको उहाँले बताउनुभयो । दसैँमा नेपाली चलचित्र लागे पनि व्यापार राम्रो गर्न सकेन, अहिले आएर यसले राम्रो व्यापार गर्दै गएको छ । उहाँले भन्नुभयो, “यस्तै अवस्था रहेमा मङ्सिर महिनाभरि चल्ने देखिएको छ ।

इन्द्रदेव चलचित्र भवनका व्यवस्थापक हरि रेग्मीले धेरैपछि हलमा दर्शक भरिएको बताउनुभयो । ८३२ सिट क्षमता रहेको हलमा दैनिक दुई सो ‘परान’ ले लिएको छ । जेरी टु, मन बिनाको धनले एक एक सो पाएको छ तर ‘परान’ चलचित्रमा नै दर्शको चाप रहेको उहाँले बताउनुभयो । पूर्वी चितवनको पर्सामा रहेको म्याङ्गो हलका व्यवस्थापक शिव उप्रेतीले दैनिक चार सो ‘परान’ ले लिएको बताउनुभयो । अन्य नेपाली चलचित्रभन्दा यसमा दर्शको चाप वृद्धि हुँदै गएको छ, उहाँले भन्नुभयो, “बिहानदेखि साँझसम्म दर्शकको चाप रहेको छ । दर्शकको चाप गत वर्षको क्रेज जस्तै ‘परान’ मा रहेको उहाँले बताउनुभयो ।

सिजी व्यापारिक मलको सिजी क्युएफएक्सका व्यवस्थापक प्रविन कार्कीले तिहारको समयमा ‘जेरी अन टप’ ले राम्रो व्यापार गरेको भए पनि अहिले आएर ‘परान’ ले उछिनेको बताउनुभयो । गत वर्षको पूर्णबहादुरको सारङ्गीकै गतिमा जाने देखिन्छ । माघ महिनायता राम्रो नेपाली चलचित्र आउने अवस्था छैन । उहाँले भन्नुभयो, अब यसैले राम्रो व्यापार गर्ने देखिन्छ । दैनिक छ सो ‘परान’ ले लिए पनि सबै सोमा दर्शक भरिएको उहाँले जानकारी दिनुभयो । हलमा रातिको अन्तिम सोमासमेत ‘परान’ हेर्ने दर्शकको भिड लागेको उहाँले बताउनुभयो ।

गत शनिबार मात्रै यस चलचित्रले देशभरिबाट एक करोड रुपियाँ सङ्कलन गर्न सफल भएको थियो । परिवारसहित हेर्न आउने दर्शक भएकाले यसले बजार लिँदै गरेको हल सञ्चालकले बताएका छन् । विदेश जाने सन्तान र अभिभावकको पीडाको विषयमा समेटिएको यो चलचित्र नेपालीको हरेक घरको कथा भएको चलचित्र निर्माणकर्ताले बताएका छन् ।