11/10/2025, 17:31:05
सोमबार, कार्तिक २४, २०८२

सञ्चार मन्त्री खरेलको प्रतिबद्धता : ‘चलचित्र क्षेत्रको विकासका एजेन्डा लेखेर ल्याउनुस्, पूरा गर्न तयार छु’


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले समाज रूपान्तरणका लागि चलचित्र क्षेत्रले खेलेको भूमिका अविस्मरणीय रहेको बताएका छन् ।

सोमवार चलचित्र विकास बोर्डको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । समाज र मुलुकको यथार्थमा आधारित चलचित्रमार्फत समाजलाई अग्रगामी दिशामा अगाडि बढाउन भूमिका खेलेका चलचित्रकर्मीहरूलाई राज्यले हेर्नुपर्ने उनको भनाइ छ ।

उनले चलचित्र क्षेत्रको विकासका लागि आवश्यक कार्ययोजना ल्याउन चलचित्र विकास बोर्डलाई आग्रह पनि गरेका छन् ।

चलचित्र प्रदर्शन लगायतका विषयमा रहेका अलमलहरू चिर्न सरकार लागिपरेको समेत उनको भनाइ थियो ।

‘देश र समाजको हितअनुसार नेपाली चलचित्र क्षेत्रको विकासका लागि मेरो कार्यअवधिमा मैले के गर्नुपर्छ मलाई स्पष्ट रूपमा लेखेर ल्याउनुस् म गर्न तयार छु,’ उनले भने, ‘चलचित्र क्षेत्रको विकासका लागि आवश्यक पर्ने नीतिगत सुधारको लागि हामीले हिजोदेखि नै कार्यप्रारम्भ गरेका छौँ । नेपाली समाजको रूपान्तरणका लागि चलचित्र क्षेत्रले खेलेको भूमिका भुल्न मिल्दैन ।’

उनले चलचित्र क्षेत्रलाई थप प्रभावकारी बनाउन चलचित्रकर्मीको व्यवहार गैरराजनीतिक हुनुपर्नेमा जोड दिए ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..