बुधबार, पुष १०, २०८१

अझै लागू हुन सकेन वैदेशिक रोजगारको अभिमुखीकरण तालिमका लागि आईरिस सिस्टम


३० असोज, काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान तालिमका लागि आईरिस सिस्टम लागू हुन सकेको छैन । असोज २९ गतेदेखि अनिवार्य रूपमा लागू गर्ने भनिएको आईरिस प्रणाली अझै लागू हुन नसकेको हो । वैदेशिक रोजगार विभागले प्राविधिक कारणले लागू गर्न नसकेको जनाएको छ ।

यसअघि असोज १५ गतेदेखि लागू गर्ने घोषणा गरेर अन्तिम समयमा आएर स्थगित गरिएको थियो । त्यसपछि असोज २९ गतेदेखि लागू गर्ने भनेर सूचना जारी गरेको थियो । विभागले सूचना जारी गर्दै अनिवार्य रूपमा फेसटाइम एटेन्डेन्स र आईरिस रिक्ग्नाइजेशन सिस्टम लागू गर्ने जनाएको थियो । तर, प्राविधिक कारणले अनिवार्य रूपमा लागू गर्न नसकिएको जनाएको हो । विभागका महानिर्देशक सूर्य बहादुर खत्रीले अन्य केही कारण नभएर प्राविधिक कारणले मात्रै हिजोदेखि लागू गर्न नसकिएको बताए ।

अहिले प्राविधिक टिमले काम गरिरहेको छ । मैले बारम्बार ताकेता गरिरहेको छु । प्राविधिक टिम लागिरहेको छ । चाडै नै लागू हुन्छ । अन्य केही कारण नभई प्राविधिक कारण मात्रै हो,’ उनले भने । अहिले बायोमेट्रिक र आईरिस दुवै प्रणालीबाट काम भइरहेको उनको भनाइ छ । बायोमेट्रिकलाई विस्थापित गर्दै पूर्ण रूपमा आईरिस सिस्टम लागू गर्ने तयारी गरेको हो । तर, पटक पटक विभिन्न कारण देखाउँदै सरकारले आईरिस सिस्टम लागू गर्न सकेको छैन ।

विभागले अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूले तयारी नपुगेको भन्दै थप समय माग गरेकाले समय थप गरिएको जनाएको थियो । व्यवसायीहरूले भने आफ्नो तयारी पुरा भएको तर, विभागको उक्त सिस्टम लगाउन नचाहने मनसायले अनेक बहाना गर्दै आएको आरोप लगाउँदै आएका छन् । यसअघि गत वर्ष नै उक्त सिस्टम लागू गर्नका लागि आवश्यक पूर्वाधार तयार गर्न भनेको थियो । तर, हालसम्म लागू हुन सकेको थिएन ।

विभागले श्रमिकहरूलाई तालिमका लागि कक्षा कोठामा उपस्थित नै नभएका श्रमिकलाई तालिम दिएको प्रमाणपत्र दिएको पाएको थियो । त्यसपछि विभागले ४६ वटा संस्थालाई कारबाही गरेको थियो । पढाउँदै नपढाई तालिम लिएको भन्दै प्रमाणपत्र दिन थालेपछि विभागले बायोमेट्रिक सिस्टमलाई हटाएर आईरिस सिस्टम लागू गर्न खोजेको हो ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading