11/10/2025, 16:14:01
सोमबार, कार्तिक २४, २०८२

मलेसियाको १० बुँदे मापदण्ड अमान्य भन्दै नेपालले पठाएको कूटनीतिक नोट आज दूतावासले बुझाउँदै


काठमाडौँ । मलेसियाले पठाएको १० बुँदे श्रम मापदण्ड अमान्य हुने भन्दै नेपालले आधिकारिक कूटनीतिक नोट पठाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको पत्र परराष्ट्र मन्त्रालय मार्फत क्वालालम्पुरस्थित नेपाली दूतावास हुँदै मलेसिया पठाइएको हो । गत शुक्रबार पठाइएको पत्र दूतावासले मलेसियाली सरकारलाई बुझाउन लागेको छ ।

मलेसियाले पठाएको पत्रले म्यानपावर व्यवसायीबीच सिन्डिकेट प्रणाली लागु गर्ने प्रयास गरेको ठहर गर्दै नेपालले ती मापदण्ड कार्यान्वयन गर्न असम्भव रहेको स्पष्ट पारेको छ ।

नेपाल सरकारको धारणा अनुसार उक्त मापदण्डले नेपालमा दर्ता भएका वैदेशिक रोजगार एजेन्सीहरूको समान अवसर, पारदर्शिता र निष्पक्ष प्रतिस्पर्धामा असर पुर्‍याउने भएकाले स्वीकार्य छैन ।

श्रम मन्त्रालयले तयार पारेको पत्रमा नेपालले मलेसियाली पक्षलाई धन्यवाद ज्ञापन गर्दै नेपाली नागरिकका लागि रोजगारीका अवसर प्रदान गरेकोमा कृतज्ञता प्रकट गरेको छ । साथै, नेपालले आफ्नो नीति, कानुन, संविधान, नेपाल-मलेसिया श्रमसम्बन्धी द्विपक्षीय सम्झौता र अन्तर्राष्ट्रिय श्रम प्रतिबद्धता अनुसार मात्र काम गर्न सक्ने जनाएको छ ।

नेपाल सरकारले मलेसियाबाट आएको मापदण्ड स्वीकृत गर्न वा लागु गर्न नसक्ने औपचारिक रूपमा जनाएको छ । मापदण्डले मलेसियाली श्रम बजारमा दक्ष जनशक्ति आपूर्तिमा समेत नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी पनि पत्रमा समावेश छ ।

नेपालले मलेसियाको माग अनुसार दक्ष जनशक्ति आपूर्ति सुनिश्चित गर्न तथा श्रमिकहरूको सुरक्षा, सुरक्षाभाव र कल्याणका विषयमा आपसी छलफल र सहकार्यबाट समाधान खोज्न तयार रहेको स्पष्ट पारेको छ ।

मलेसियाले २७ अक्टोबरमा नेपाल, भारत, बंगालादेश, पाकिस्तान र म्यानमारका लागि म्यानपावर कम्पनी छनोटका १० बुँदे मापदण्ड पठाएको थियो । श्रम मन्त्रालयले उक्त मापदण्ड कार्यान्वयन गर्न नसकिने निष्कर्ष सहित परराष्ट्र मन्त्रालय मार्फत औपचारिक जवाफ पठाएको हो ।

श्रम मन्त्रालयले पत्रका विषयमा म्यानपावर व्यवसायीको आधिकारिक धारणा समेत माग गरेको थियो । सात दिनभित्र धारणा पेस गर्न समय दिएको मन्त्रालयले त्यसअघि नै मलेसियन सरकारलाई पत्र लेखेको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..