12/29/2025, 23:52:44
सोमबार, पुष १४, २०८२

सुदूरपश्चिम प्रदेशको शिक्षण सिकाइ निराशाजनक


धनगढी, कात्तिक २४ : सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा विद्यार्थीको सिकाइ उपलब्धिको अवस्था निराशाजनक देखिएको छ । पछिल्ला केही वर्षयता एसइई, कक्षा ८ तथा अन्य कक्षाका विद्यार्थीको सिकाइमा अपेक्षाकृत सुधार नदेखिएको शिक्षा विकास निर्देशनालय डोटीले जनाएको छ । सुदूरपश्चिममा तीन हजार ३४३ सामुदायिक र ७४७ संस्थागत विद्यालय छन् । २०८० को एसइईमा ४७.८६ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएकामा २०८१ मा त्यो बढेर ६१.८१ पुगेको छ । उत्तीर्ण सङ्ख्यामा सुधार देखिए पनि सिकाइमा अपेक्षाकृत सुधार नदेखिएको बताइएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयका शिक्षाशास्त्र सङ्कायका डिन डा. भवानसिंह चलाउने उत्तीर्ण प्रतिशतलाई सिकाइको उपलब्धि मान्न नसकिने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “उत्तीर्ण हुनाका कारण अनेक हुन सक्छन् तर सिकाइ उपलब्धि कति छ त्यो महत्वपूर्ण हो । सुदूरपश्चिमको समग्र सिकाइ उपलब्धि ५० प्रतिशतको हाराहारीमा छ । यो अवस्थामा सुधार हुन जरुरी छ । यद्यपि संस्थागततर्फको सिकाइ उपलब्धि ६० प्रतिशतको हाराहारीमा छ ।

शैक्षिक सत्र २०८० मा कञ्चनपुरबाट एसइईमा झन्डै ६१.८३ प्रतिशत विद्यार्थी असफल भएका थिए । कञ्चनपुरबाट पाँच हजार ५१३ विद्यार्थी परीक्षामा सहभागी भएकामा सो शैक्षिक वर्षमा ३८.१६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए । शैक्षिक सत्र २०८१ मा भने कञ्चनपुरबाट ४५.२३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय एकाइ कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले बताउनुभयो ।

विसं २०७५ यता केही प्रतिशतका दरले विद्यार्थी उत्तीर्ण हुने क्रम बढ्दो क्रममा रहेको उहाँले बताउनुभयो । अपेक्षा गरे अनुरूप भने यहाँका विद्यालयले नतिजा ल्याउन नसकेको गिरीले बताउनुभयो । १७५ सामुदायिकसहित २९३ विद्यालय रहेको कैलालीमा शैक्षिक उपलब्धि भने निराशाजनक छ । संस्थागत विद्यालयभन्दा सामुदायिक विद्यालयको शैक्षिकस्तर झन् कमजोर हुँदै गएको शिक्षा विकास तथा समन्वय एकाइ कैलालीका प्रमुख ईश्वरीप्रसाद ज्ञवाली बताउनुहुन्छ । विद्यालय निरीक्षक हटाइएकाले विद्यालयहरूमा गरिने अनुगमनसमेत नहुँदा शैक्षिकस्तर खस्कँदै गएको उहाँले बताउनुभयो । पछिल्लो समय अधिकांश विद्यार्थी लागुऔषध दुव्र्यसनको सिकार भएर होला, सामुदायिक विद्यालयको नतिजा खस्कँदो क्रममा रहेको उहाँले बताउनुभयो ।

कैलालीमा शैक्षिक सत्र २०८० मा १४ सामुदायिक विद्यालय र एक संस्थागत गरी १५ विद्यालयको एसइई नतिजा शून्य आएको थियो । सो शैक्षिक सत्रमा कैलालीबाट ३०.०५ प्रतिशत विद्यार्थी मात्रै एसइई परीक्षामा उत्तीर्ण भएका थिए । नमुना विकास कार्यक्रम लागु भएका आठ वटा नमुना सामुदायिक विद्यालयमध्ये छ सामुदायिक विद्यालयको नतिजा २० प्रतिशतभन्दा कम आएको थियो । यसले पनि नमुना विद्यालयमा सरकारले गरेको लगानी खेर गइरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ । कैलालीमा शैक्षिक सत्र २०८१ मा भएको एसइई परीक्षामा ४३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भने विद्यार्थी न्यून मात्रामा विद्यालयमा उपस्थित हुने गरेका पाइएको छ । शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले सवारीसाधन र बाटोको समस्याले गर्दा आवेदन फाराम भर्नेमध्ये प्रतिवर्ष एसइईमा चार सय र कक्षा ८ मा छ सयको हाराहारीमा विद्यार्थी परीक्षामा सहभागी नै नहुने गरेको बताउनुभयो । यसले गर्दा पनि यहाँको सिकाइ प्रभावकारी नभएको उहाँले बताउनुभयो । बैतडीमा शैक्षिक सत्र–२०८० मा ३१ प्रतिशत र शैक्षिक सत्र–२०८१ मा ५२ प्रतिशत विद्यार्थी एसइईमा उत्तीर्ण भएका थिए । १२८ सामुदायिक र पाँच वटा संस्थागत विद्यालयमध्ये बैतडीमा चार वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको थियो ।

दार्चुलामा पछिल्ला केही वर्षयता विद्यालयको नतिजामा सुधार हुँदै गएको देखिएको छ । यहाँ १०/१२ प्रतिशतका दरले विद्यालयको नजिता सुधारोन्मुख देखिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख जयराज पन्तले बताउनुभयो । शैक्षिक सत्र–२०८१ मा दार्चुलाका ७७ विद्यालयबाट चार विद्यालयको नतिजा शून्य आएको थियो । “केही राम्रो गर्न खोज्ने प्राध्यापक भएका विद्यालयमा नजिता सुधारोन्मुख भएको देखिन्छ,” शिक्षा शाखा प्रमुख पन्तले भन्नुभयो, “बाँकी विद्यालयमा भने सुधार हुन सकेको छैन ।

सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै जाँदा दुर्गममा रहेका सामुदायिक विद्यालयको नतिजा कमजोर रहेको उहाँले बताउनुभयो । बाजुरामा भने विद्यार्थीको सिकाइ उपलब्धि सन्तोषजनक रहेको जनाइएको छ । बाजुरामा शैक्षिक सत्र २०८१ मा ५८.७२ प्रतिशतले एसइई उत्तीर्ण गरेका थिए; जुन सुदूरपश्चिम प्रदेशकै उच्च दर पनि हो । शिक्षा समन्वय एकाइ बाजुराका प्रमुख टीकाराम जोशी अभिभावक, शिक्षक र विद्यार्थीले दायित्वबोध गरेपछि क्रमिक रूपमा शैक्षिकस्तरमा सुधार हुँदै गएको बताउनुभयो ।

अछाममा सिकाइ उपलब्धि सोचे अनुरूप प्रभावकारी हुन सकेको छैन । शिक्षा समन्वय एकाइ अछामका प्रमुख अम्बादत्त जोशीले एसइईमा विगत वर्षभन्दा केही सुधार हुँदै गए पनि समग्र सिकाइ उपलब्धि अपेक्षाकृत हुन नसकेको बताउनुभयो । अछाममा शैक्षिक सत्र २०८० मा एसइईमा २८.८५ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए भने २०८१ मा ४०.७५ प्रतिशत सफल भएका थिए ।

बझाङमा भने विद्यार्थीको सिकाइ उपलब्धिको वर्तमान अवस्था निराशाजनक देखिन्छ । शिक्षा समन्वय एकाइ बझाङका सूचना अधिकारी वसन्त सिंहले गत वर्ष ३१ प्रतिशत विद्यार्थी मात्रै एसइईमा सफल भएका बताउनुभयो । डडेलधुरा र डोटीमा पनि सिकाइ उपलब्धिको वर्तमान अवस्था सन्तोषजनक देखिएको छैन । डडेलधुरामा त झनै सामुदायिक विद्यालयमा विद्यार्थीको शैक्षिक अवस्था दयनीय रहेको बताइएको छ । शिक्षा विकास तथा समन्वय एकाइ डोटीका सूचना अधिकारी पदमबहादुर साउदले जिल्लामा ३८५ सामुदायिक विद्यालय र ४७ संस्थागत विद्यालयमध्ये संस्थागत विद्यालयको सिकाइ उपलब्धि सन्तोषजनक रहेको बताउनुभयो ।

डोटीमा शैक्षिक सत्र २०८० मा १७ प्रतिशत र २०८१ मा २९ प्रतिशत विद्यार्थी एसइई उत्तीर्ण भएका थिए । वर्षमा २२० दिनसम्म पढाइ गरिनुपर्ने भए पनि सुदूरपश्चिमका विद्यालयमा भने १५० देखि १५२ दिन मात्रै विद्यालय खुल्ने गरेका छन् । बन्द, हडताल, प्रदेश सरकारले दिने बिदा, स्थानीय सरकारले दिने बिदा तथा कुनै समय विद्यालयले नै दिने अनिश्चित विद्याका कारण यहाँस्थित शैक्षिक संस्थामा पाठ्यक्रम पूरा गर्ने गरी विद्यालय सञ्चालनमा आउन सकेका छैनन् ।

– प्रकाशविक्रम शाह