11/08/2025, 12:58:08
शनिबार, कार्तिक २३, २०८२

घर घरको कथा चलचित्र ‘परान’


काठमाडौँ, कात्तिक २२ : गाउँ, सहर र विदेश जहाँ अहिलेका युवालाई गाउँको आफ्नो पुख्र्यौली घरभन्दा पनि सहर र विदेश नै रुचिकर बन्न थालेको छ । चलचित्र ‘परान’ पनि गाउँको परिवेशमा हुर्किएको तीन छोराको आफ्नो बुवासँगको सम्बन्धमा केन्द्रित भएको कथा हो ।

धर्मनाथ आचार्य (नीर शाह) र दुर्गादेवी (पूजा चन्द) का तीन छोरा छन् । जेठो लेखनाथ (सुब्रत आचार्य) जो अस्ट्रेलियाको सिड्नी बस्छन् । माइलो छोरो लक्ष्मीनाथ (प्रवीण खतिवडा) आफ्नी श्रीमती कमला (केकी अधिकारी) र छोरोसँग काठमाडौँमा जागिरे जीवन बिताइरहेका छन् । कान्छो छोराबुहारी गोपानाथ (महेश त्रिपाठी र रूपा (अञ्जना बराइली) धर्मनाथ र आमा दुर्गादेवीको रेखदेख गरेर गाउँमै बसेका छन् । तीन जना दाजुभाइको सम्बन्ध धेरै राम्रो छ । बेला बेलामा भिडियो कलमा तिनै दाजुभाइको भेट भइरहेको हुन्छ ।

धर्मनाथ कान्छा छोरा गोपालनाथलाई विदेशी भूमि पठाउन चाहँदैनन् । उनी छोराबुहारी गाउँमै बसेकोमा धेरै खुसी छन् । गोपालनाथ घरमै कुखुरापालन गरेर आफ्नो जीवन बिताइरहनुभएको छ भने बुहारी रूपा शिक्षण पेसामा आबद्ध हुनुहुन्छ । यो सबैबाट धर्मनाथ प्रफुल्लित त हुनुहुन्छ तर उहाँलाई एउटा कुराले सताइरहेको छ । बुढेसकालको यो उमेरमा पनि नातिनातिना खेलाउन नपाएकोमा उहाँ दुःखी देखिनुहुन्छ ।

उहाँ गाउँमा गाउँलेहरूलाई आफ्नो छोराछोरीलाई विदेश नपठाउन आग्रह गर्दै हिँड्नुहुन्छ । गाउँका बालबालिका उहाँलाई मिस्री बाजेको नामले बोलाउँछन् । उहाँको दिनचार्य गाउँका साथीसँग तासमै बितिरहेको हुन्छ । उहाँका स्वभावले गाउँलेहरूले पनि उहाँलाई मन पराउँछन् । गाउँमै केही गरेर देखाउनु पर्छ भनेर सबैलाई सुझाउँदै हिँड्नु हुने धर्मनाथलाई जब आफ्नै कान्छो छोरा गोपालनाथले नै उनीमाथि अन्तर्घात गर्छन्, त्यसपछि चलचित्रको कथाले अनेकन मोड लिन्छन् । कान्छो छोरा गोपालनाथ र बुवा धर्मनाथबिचको सम्बन्धमा आउने टकराव, बुहारी रूपाको विदेश जाने मोहले निम्त्याएको भाँडभैलो र माइलो छोरा लक्ष्मीनाथसँग काठमाडौँमा बस्न नसकेर गाउँमा फर्किएका धर्मनाथमाथि आउने अनेकन दरारले चलचित्रमा अनेकन ट्विस्ट पैदा गर्छ ।

मुख्य स्लोगन नै परिवार ‘सासले होइन साथले चल्छ’ राखिएको चलचित्रले परिवारभित्र पनि बा र छोराबिचको माया, भावनाका कुरालाई गहिराइमा पस्कन खोजेको छ । चलचित्रको सबैभन्दा बलियो पक्ष भनेकै यसको संवाद हो । चलचित्रका निर्देशक तथा कथाकारसमेत रहनुभएका दीपक आचार्य ‘काकु’ ले यसमा राम्रै मेहनत गर्नुभएको देखिन्छ । उहाँले चलचित्रको प्रत्येक संवादबाट दर्शकलाई भावनामा बग्न बाध्य बनाउन सक्नुभएको छ । कलाकारको संवाद र अभिनयमा उहाँको निर्देशकीय पक्षको मेहनत झल्किन्छ ।

चलचित्रका मुख्य नायक नै नीर शाह हुनुहुन्छ । धर्मनाथको भूमिकामा देखिनुभएका शाहको अभिनयको जति तारिफ गरे पनि कम हुन्छ । उहाँ भावुक हुनुभएको प्रत्येक दृश्य र उहाँले बेल्नुभएको भावुक संवादले चलचित्रलाई अझ बलियो बनाएको छ । जेठो छोरा सुब्रतको काम केवल भिडियो कल गर्नका लागि मात्र प्रयोग गरिएको हो कि भन्ने भान हुन्छ । माइलो छोरा प्रवीण खतिवडा र बुहारी केकी अधिकारीको अभिनय ठिकठाक भन्नु पर्छ । कान्छा छोराको चरित्रमा देखिनुभएका महेश त्रिपाठी र कान्छी बुहारी अञ्जना बराइलीको अभिनयले चलचित्रको कथामा धेरै कुरा प्रस्ट्याउँछ । दुवैको अभिनयले दर्शकको मन अवश्य जित्छ ।

चलचित्रमा धर्मनाथको साथीको भूमिकामा देखिनुभएका मदनकृष्ण श्रेष्ठको अभिनयले सन्तानको साथ पाउँदा आमाबुवालाई कति गौरवान्वित बनाउँछ र बुढ्यौलीसँग लड्न कति सक्षम होइन्छ भन्ने पाटोलाई उजागर गर्छ । उहाँको अभिनयले पनि दर्शकको मनलाई भावानात्मक बनाउँछ । बुद्धि तामाङले नबोलेरै धेरै कुरा भन्न खोज्नुभएको छ । धर्मनाथपछि उहाँको अभिनयले दर्शकलाई भावुक बनाउन सक्छ । उहाँले गर्नुभएको अभिनय चलचित्रको अर्को मजबुत पाटो हो । चलचित्रको गीतसङ्गीत मध्यम भए पनि कथा अनुसार प्रयोग भएका छन् । अनिश अधिकारी र निर्देशक स्वयम्को लेखनले दर्शक मन्त्रमुग्ध भने अवश्य बन्छन् । बाबुछोराको सम्बन्धमा लेखिएको भावनात्मक पारिवारिक चलचित्रले दर्शकलाई गम्भीर त बनाउँछ नै हलबाट बाहिर निस्कँदा धुरु धुरु रुवाउँछ । त्यसैले पनि चलचित्र सबैको घरको कथा बन्न सफल भएको छ ।

– सुकृत नेपाल