11/05/2025, 16:59:22
बुधबार, कार्तिक २०, २०८२

वन्यजन्तु चोरी सिकारीका तस्कर कारागार नफर्किँदा संरक्षणमा चुनौती


चितवन, कात्तिक १९ गते । कारागार कार्यालय भरतपुरबाट भागेका वन्यजन्तु अपराधका १६ जना कैदी बन्दी हालसम्म फर्किएका छैनन् । तीमध्ये १२ जना दुर्लभ एकसिङ्गे गैँडा चोरी सिकारका मुख्य अभियुक्त हुन्

वन्यजन्तु अपराधका कैदी बन्दी कारागार नफर्किँदा गैँडासहित अन्य वन्यजन्तु संरक्षणमा चुनौती थपिएको छ ।

दुर्लभ एकसिङ्गे गैँडा मारी खाग बिक्री गर्ने व्यवसायका मुख्य अभियुक्तसमेत बाहिर रहँदा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले उच्च सतर्कता अपनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले फरार भएकामध्ये केही कुख्यात तस्करका रूपमा कारागारमा राखिएको जानकारी दिए ।

उनका अनुसार ठुलो कान्छा एवं सागर प्रजा भनिने विन्दरसिंह प्रजा, रमेश खाती, आइतसिंह मोक्तान कुख्यात तस्करीमा लागेकाहरू नफर्किँदा संरक्षणमा चुनौती थपिएको हो ।

निकुञ्ज प्रशासन र सुरक्षा निकायले विसं २०७८ मा नियन्त्रणमा लिएका प्रजा कालिका नगरपालिका–११ का हुन् । त्यस्तै खाती हेटौँडा नगरपालिका–३ मकवानपुरका र मोक्तान राप्ती नगरपालिका–११ का हुन् । उनीहरूमध्ये प्रजा विसं २०७८ मा र मोक्तान र खाती विसं २०८० मा पक्राउ परेका संरक्षण अधिकृत डा पन्तले जनाउँदै तीनै जना अधिकतम सजाय १५ वर्ष कैदका लागि कारागार परेका उल्लेख गरे ।

अन्य फरार रहेकाहरू समेतबाट निकुञ्ज सुरक्षामा चुनौती थपिएको प्रशासनले जनाएको छ । सोहीअनुरूप निजहरूलाई पक्राउ गर्नका लागि सूचना सङ्कलन र सहजीकरणमा निकुञ्ज प्रशासन जुटेको छ भने सुरक्षा निकाय लागिरहेको डा. पन्तले बताए ।

दुर्लभ एकसिङ्गे गैँडासहित वन्यजन्तु चोरी सिकारका मुख्य आरोपितहरूको सञ्जाल ठुलो हुने र फरार भएमा पक्राउ गर्न सास्ती हुने गर्दछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता वेदकुमार ढकालले वन्यजन्तु अपराधका फरार कैदी बन्दी खोजीका लागि सम्बन्धित निकुञ्जले आवश्यक सहजीकरण गरिरहेका जनाउँदै सुरक्षा निकायको समन्वयमा निरन्तर खोजी भइरहेको बताए ।

यसैबिच, विभागको आन्तरिक रूपमा रहेको वन्यजन्तु अपराध नियन्त्रण सचिवालयको बैठक बिहीबार बस्दैछ । यससँगै केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण ब्युरोको बैठक बस्ने तयारी गरिएको छ । विभागका महानिर्देशक संयोजक रहने उक्त ब्युरोमा गृहसहित विभिन्न निकायका सहसचिवस्तरका अधिकारीहरू सदस्य रहने व्यवस्था छ ।

ढकालले राष्ट्रिय रूपमा वन्यजन्तु संरक्षणमा चुनौती थपिएको भन्दै सबै निकुञ्जलाई पत्राचार गरी वन्यजन्तु अपराधमा के कति कैदी बन्दी फर्किएका छैनन् तथ्याङ्क सङ्कलन गरेर पठाउन भनिएको जानकारी दिए ।

कारागार कार्यालय भरतपुरका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार यहाँबाट भागेका ७४३ मध्ये अझै १३५ कैदी बन्दी फर्किएका छैनन् । तीमध्ये ११ जना भारतीय नागरिक रहेका जनाउँदै उहाँले वन्यजन्तु तस्करीमा ५३ जना कैदी बन्दी रहेका बताए । उनीहरूमध्ये ४६ जना दुर्लभ एकसिङ्गे गैँडाका आरोपी हुन् भने ७ जना अन्य वन्यजन्तुसम्बन्धी अपराधका हुन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..